अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको क्यानडाका प्रधानमन्त्रीको उदघोष

काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको उदघोष गरेका छन्। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अमेरिकासँगको सैन्य सुरक्षादेखि आर्थिक सम्बन्ध पनि सकिएको बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिको नीतिले क्यानडाको अर्थतन्त्र प्रभावित भएको र आर्थिक गतिविधि बढाउन क्यानडाले निकै प्रयास गर्न आवश्यक रहेको उनको भनाइ छ । बुधबार मात्रै ट्रम्पले आयातित सवारी साधन र सवारी पाट्र्समाथि २५ प्रतिशत स्थायी कर लगाउने घोषणा गरेका थिए ।
लिबरल पार्टीका नेता समेत रहेका कार्नीले १९६५ मा हस्ताक्षर भएको क्यानाडा–अमेरिका अटोमोटिव उत्पादन सम्झौता विपरित अहिले स्थायी कर लगाइएको बताए । कार्नीले अर्को महिना हुने निर्वाचनमा आयात शुल्कहरूको सामना गर्न सक्ने गरि आफ्नो अभियान योजनामा परिवर्तन समेत गरे ।
अमेरिकाले पहिले नै क्यानाडाका सामानहरूमा २५ प्रतिशतको कर लागू गरेको छ । साथै सबै एल्युमिनियम र स्टिल आयातमाथि पनि थप २५ प्रतिशत शुल्क लगाएको छ । व्हाइट हाउसका अनुसार नयाँ सवारी साधन ट्यारिफहरू २ अप्रिलबाट लागू हुनेछन्। सवारी साधन आयात गर्ने व्यवसायहरूका लागि अर्को दिनदेखि शुल्क लागू हुनेछ । पाट्र्समाथि करहरू मे वा त्यसपछि लागू हुनेछन् ।