बसको ठक्करबाट म्याजिक चालकको मृत्यु : पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

मकवानपुर । सवारी दुर्घटनामा मृत्यु भएकाका आफन्तले पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा प्रदर्शन गरेका छन् । मनहरी गाउँपालिका–६ लोथरमा शुक्रबार बिहान बस र म्याजिक भ्यान ठोक्किँदा भ्यान चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध पारेका छन् ।
आन्दोलनकारीले सडकमा अवरोध सिर्जना गरी घटनाको छानबिन गर्नुपर्ने र क्षतिपूर्तिको विषय तत्काल टुंगो लगाउनुपर्ने माग राखेका छन् । प्रहरी र प्रशासनले सडक खुलाउन प्रयास गरिरहेका छन् । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट लोथर बजारतर्फ गइरहेको बा प्र०३००१ च ३०१२ को म्याजिक भ्यान एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी भ्यानका चालक राक्सिराङ गाउँपालिका–४ का ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको हो । बस र भ्यानको ठक्करबाट घाइते भएका कोइरालालाई उपचारका निम्ति चितवनतर्फ लैजाने क्रममै बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ। भ्यानमा चालक कोइराला मात्र थिए । दुवै सवारी साधन तीव्र गतिमा आएका थिए । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।