उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौं । संघीय राजधानी काठमाडौँ उपत्यकामा आज हुने फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौँका विभिन्न स्थानमा हुने जुलुस र सभास्थलको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले जानकारी दिए ।
उपत्यकाका प्रमुख चोकहरुमा प्रहरीको बाक्लो तैनाथी छ भने भैपरी आउने परिस्थितिका लागि आवश्यक संख्यामा प्रहरी तम्तयार रहेको उनले बताए । उपत्यकामा आज समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौँ प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दैछ ।
त्यसैगरी राजतन्त्र पक्षधरले नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन गर्दैछन्। दुवै प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर र्याली जुलुसहरु तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ । दुवै समूहको प्रदर्शनले दैनिकीमा अवरोध हुने ठानी सर्वसाधरण सचेत भएर गन्तव्यतर्फ हिँडिरहेका देखिन्छन् ।