कुलमान हटाएर जलविद्युत योजनाको पिपिएमा आठ अर्बको लेनदेन हुँदैछ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशव्यापी रुपमा भ्रष्टाचार बढेको बताएका छन् । आज (सोमबार) पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले देशव्यापी रुपमा भ्रष्टाचार नै भ्रष्टाचार रहेको र हरेक क्षेत्रमा सरकारका वरपर भ्रष्टाचार व्याप्त भएको जिकिर गरे । उनले भ्रष्टाचारको पछिल्लो उदाहरण कुलमान घिसिङलाई हटाएर थप प्रष्ट भएको बताएका छन् । उनले अहिले कम्तीमा ४ हजार मेगावाटका जलविद्युत योजनाहरुको पिपिए गर्ने बेला भएको र त्यसमा ६ देखि ८ अर्बको लेनदेन हुँदै गरेको समेत बताए ।
पूर्व प्रधानमन्त्री खनालले भने, ‘देशव्यापी रूपमा भ्रष्टाचार नै भ्रष्टाचार छ । हरेक क्षेत्रमा सरकारका वरिपरी भ्रष्टाचार नै भ्रष्टाचार छ । अनि मन्त्रालयमा गयो भ्रष्टाचार नै भ्रष्टाचार छ । भ्रष्टाचारमा सबैभन्दा पछिल्लो उदाहरण म भन्न चाहन्छु । कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट किन फ्याँकियो ? जबकि उनको तीन महिना मात्रै बाँकी थियो । तीन महिना मात्रै भएको कर्मचारीलाई यति जबरजस्ती रुपले निर्ममतापूर्वक, कायरतापूर्वक र स्वार्थपूर्ण ढंगले किन फ्याँकियो । किनभने अहिले विद्युत प्राधिकरणबाट देशभर विकास गरिने जलविद्युत आयोजनाहरु छन्, त्यसमा कम्तीमा ४ हजार मेगावाटका जलविद्युत योजनाहरुको पिपिए गर्ने बेला भएको छ । त्यो बेलामा धेरै ठूला लेनदेनका कामहरु हुने गर्दछन्। त्यसमा ६ देखि ८ अर्बको लेनदेन हुनेवाला छ ।’ पूर्वप्रधानमन्त्री खनालले देशमा बेरोजगारी व्याप्त रहेको बताए ।