गणतन्त्रवादी दलहरूसँग फोटो खिचाउने पक्षमा रास्वपा छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेले जनताका असन्तुष्टीलाई सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार हुन पार्टीपंक्तिलाई आह्वान गरेका छन् ।
रास्वपाको केन्द्रीय समितिको बैठक बस्नुअघि आज पार्टी कार्यालय चमतिमा उपस्थित शुभेच्छुक एवं कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफू आजैदेखि सभापतिको नेतृत्वमा फर्किन लागेको बताए । ‘जनतामा रहेको आक्रोशलाई सम्बोधन गर्न हामी तयार हुनुपर्छ, कसैलाई गाली गरेर, होच्याएर केही हुनेवाला छैन, शान्तिपूर्ण अभियान मर्न दिनु हुँदैन’, उनले भने । सभापति लामिछानेले गणतन्त्रवादी दलहरूसँग फोटो खिचाउने पक्षमा आफ्नो दल नरहेको बताएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठक अघि केन्द्रीय कार्यालय वनस्थलीमा बोल्ने क्रममा सभापति लामिछानेले गणतन्त्रवादी भन्ने दलहरूले गणतन्त्रको खोल मात्रै ओढेको आरोप लगाए । ‘जहाँ तपाईं उभिरहनु भएको छ । त्यो गणतन्त्र नभएर लुटतन्त्रको खोल ओडिरहनु भएको छ । रास्वपाले खोल ओड्दैन,’ लामिछानेले भने, ‘तपाईंको कर्तुत लुकाउन लागि तपाईंको कित्तामा उभिएर फोटो खिचाउने रहर रास्वपालाई छैन ।’
वर्तमान सरकारप्रति आक्रोशित सुनिएका लामिछानेले नेपाली कांग्रेस र नेकपा एमाले प्रति लक्षित गर्दै भने ‘दुईटा चोर मिलेर साधु हुँदैन ।’ सहकारी ठगी प्रकरणमा आफूविरुद्ध अदालतमा मुद्दा दायर हुनुअघि लामिछानेले पार्टीका गतिविधिबाट अगल भएका थिए । त्यसयता डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए । आजको पहिलो बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गर्ने र त्यसपछिको दोस्रो बैठक लामिछानेको सभापतित्वमा बस्ने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।