दुबईबाट ल्यापटप–मोबाइल ओसार्ने, न्यूरोडमा भन्सार छलेर व्यापार गर्ने

काठमाडौं । दुबईबाट भन्सार छलेर ल्याएका ल्यापटप र मोबाइलसहित सात जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका–९ गौशला बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरी बलवा नगरपालिका–१२ का २८ वर्षीय राकेश गिरी, पाल्पाको रम्भा गाउँपालिका–१ का ४१ वर्षीय ताराबहादुर रेस्मी मगर, पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ की ३५ वर्षीय कमला फियाक, मकवानपुर राक्सिराङ गाउँपालिका–९ घर भई हाल काठमाडौं सीतापाइला बस्ने २६ वर्षीय चित्रबहादुर मल्ल ठकुरी रहेका छन् ।
यसैगरी, मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भई सीतापाइला बस्ने चित्रबहादुरको छोरा २४ वर्षीय हुकुमबहादुर मल्ल, उदयपुरको कटारी नगरपालिका–५ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३१ वर्षीय सुमित केसी र मोरङको विराटनगर महानगरपालिका–१५ घर भई हाल काठमाडौं कलंकी बस्ने ३० वर्षीय रसिद आलम रहेका छन् ।
यीमध्ये कोही दुबईबाट सामान ल्याउने, कोही नेपालमा रिसिभ गर्ने र दुबईबाट सामान मगाई पसल सञ्चालन समेत छन्। उनीहरूको साथबाट डेल कम्पनीको ल्यापटप ७२ थान, आईफोन प्रोम्याक्स १६ एक थान र आईफोन प्रोम्याक्स १३ चार थान बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानमा ती सामान एलिटेड सप्लायर्समा लैजाने गरेको खुलेपछि प्रहरीले त्यहाँ छापा मारेको थियो। पसल सञ्चालक आलमले पहिलेदेखि नै यसरी सामान ल्याएर बेच्ने गरेको खुलेको एसपी जीसीले बताए। प्रहरीले पसल तथा स्टोरमा खानतलासी गर्दा बिल नभएका डेल कम्पनीका ६९ थान ल्यापटप र २ थान मोबाइद्य बरामद गरेको हो। बरामद भएका सामानसहित सातै जनालाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय पठाएको छ ।