तीनखुट्टे–देवीटार सडक पाँच वर्षसम्म अधुरै, कामदारले ज्याला समेत पाएनन्


०१:४२ बजे

धुलिखेल । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाको केन्द्र देवीटार जोड्ने सडकखण्ड पाँच वर्षसम्म पनि अधुरै छ। आठ दशमलव सात किलोमिटर ट्रयाक खोलेर सडक कालोपत्रका लागि विसं २०७७ असोज २० मा शिलान्यास गरिएको थियो । बागमती प्रदेश सरकारको सहयोगमा सडक निर्माण सुरु भएको थियो ।

सडक निर्माणले निरन्तरता नपाउने र काम गरेका मजदुरको ज्याला समेत भुक्तानी नगरेपछि कामले गति लिन सकेको छैन । स्थानीय लीलाध्वज ग्लानले ठेकेदार नियमित नआउने, कामदारले काम गरेको पैसा नपाएका कारण पाँच वर्षदेखि सडक अलपत्र अवस्थामा रहेको बताए । पछिल्लो दुई महिनादेखि काम ठप्प रहेको उनले बताए ।

स्थानीय टेकबहादुर घिसिङले सडक पक्की हुने भन्दै उत्साहित नागरिक अचेल निरास भएको गुनासो गरे । ‘ठेकेदारले सडक छेउ भित्ता खनेर त्यसै छोडेका छन् । समयमा काम सम्पन्न नगर्दा सडकको प्रयोग गर्न त पाइएको छैन नै, बर्खामा बाढीले घरबारी बगाउने र कतै पहिरो जान्छ कि भन्ने डरले रातभरि जागै बस्नुपर्ने अवस्था रहेको छ’, उनले भने ।

स्थानीय बासिन्दा कर्णबहादुर थिङले दुई वर्षभित्रमा कालोपत्र गर्ने भनिएको सडक पाँच वर्ष बितिसक्दा पनि सम्पन्न नभएकाले हिलो धुलोले थप पीडा भएको बताए । महाभारत गाउँपालिका—६ का वडाध्यक्ष रमेश लुङ्गेली मगरले पछिल्लो समयमा ट्रयाक खोलेर  तारजाली पर्खाल लगाउने काम भए पनि बर्खामा सबै बगाएपछि समस्यामा भएको जानकारी दिए । काम गर्ने भनेर थुपारेका सामान पनि अलपत्र अवस्थामा रहेका उनले बताए ।

‘ट्रयाक खोलेर त्यसको उचित व्यवस्थापन नगर्दा आवतजावतमा मात्रै नभएर भित्ता भत्किने, बर्खामा हिलो र हिउँदमा धुलो हुने समस्याले सबै हैरान छौँ । पहिरोको जोखिमले छेउछाउका परिवार निकै त्रासमा छन्’, वडाध्यक्ष लुङ्गेली मगरले भने ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिका केन्द्र जोड्ने पहिलो बहुवर्षीय योजनाअन्तर्गत करिब रु ४९ करोड लागतमा कालोपत्रसहितको सो योजना सुरु गरेदेखि पटक पटक म्याद थपिए पनि काम सम्पन्न नभएको बताए । सजिलो स्थानतिर करिब डेढ किलोमिटर जति कालोपत्र गरे पनि अप्ठ्यारो भागमा काम हुन नसक्दा थप समस्या भएको उनको भनाइ छ ।

यस विषयलाई लिएर प्रदेशका मुख्यमन्त्रीदेखि भौतिक पूर्वाधार विकासमन्त्री, अर्थमन्त्री र मन्त्रालयका सचिवलाई स्थलगत निरीक्षण गराएर पटकपटक ध्यानाकर्षण गराउँदा पनि काम अगाडि नबढेको अध्यक्ष जिम्बाले गुनासो गरे । पछिल्लो पटक थपेको समयसीमा पनि आगामी वैशाखसम्म मात्रै रहे पनि समयमा काम सम्पन्न हुने अवस्था नदेखिएको अध्यक्ष जिम्बाले बताए ।

पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख राजु श्रेष्ठले अब चाँडै काम सुरु हुने बताए। ठेकेदारलाई तोकिएको समयमै काम सक्न निर्देशन दिइएको उनले जानकारी दिए। हालसम्म समग्रमा ६० प्रतिशत र करिब दुई किलोमिटर सडक कालोपत्र भइसकेको कार्यालय प्रमुख श्रेष्ठले बताए। बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले सम्बन्धित मन्त्रालयका मन्त्री र कर्मचारीले स्थलगत अनुगमन गरिसकेको र मन्त्रालयमा नै बसेर धेरैपटक उक्त सडकका विषयमा छलफल गरेर ताकेता गरिएको बताए ।

यति गर्दा पनि काम नहुनुमा ठेकेदारको चरम लापर्बाही रहेको उनको भनाइ छ । बाटो नबन्दा नुन तेलदेखि सबैजसो सामान बनेपाबाट बोकेर लानुपर्ने बाध्यता रहेको भन्दै ढकालले छिटो काम गर्न ठेकेदार र सरोकार भएकाहरूलाई आग्रह गरे । निर्माण कम्पनी श्रेष्ठ-साक्ष्मक जेभीसँग विसं २०७७ असार ३० मा रु २५ करोड ८२ लाख दश हजार ३१६ मा ठेक्का सम्झौता भई  विसं २०७९ असार ३० गतेभित्रमा सम्मन्न गर्ने समय सीमा तोकिएको थियो । त्यसपछि दुई पटक म्याद थप भइसकेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७