गृहमन्त्रीलाई सांसदको प्रश्न : प्रहरीलाई गाडीले पेलेर जान उक्साउनेलाई किन छोडियो ?

‘सजिलो परिस्थिति देखिँदैन, सरकार गम्भीर होस्’


१२:२९ बजे

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले राजावादीको प्रदर्शनमा प्रहरीलाई गाडीले पेलेर जान उक्साउनेलाई छोडेको भन्दै आपत्ति जनाएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले गृहमन्त्री रमेश लेखक समक्ष आपत्ति जनाएका हुन् ।

‘प्रहरीलाई गाडीले पेलेर जान उक्साउनेलाई किन छोडियो ? यो संयमताको हद हो ? यस्तो संयमता अपनाउनु पर्ने थियो ?’, अधिकारीले प्रश्न गरे । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । राजावादी प्रदर्शनको ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईंले प्रहरीलाई पेलेर गाडी अघि बढाउन खोजेका थिए । त्यस दिनको घटनाबारे जवाफ दिन गृहमन्त्री उक्त बैठकमा उपस्थित भएका हुन् ।

राजावादीको हिंसात्मक प्रदर्शनक्रममा दुई जनाको मृत्यु भएको थियो । ‘सर्वसाधारणमाथि कसरी गोली लाग्यो ? केही दलको कार्यालयमा सुरक्षा दिइयो । नजिकै रहेका राजनीतिक दलको कार्यालयमा किन सुरक्षा दिइएन ?’, उनले नेकपा (एकीकृत समाजवादी) को कार्यालय लक्षित गर्दै भने ।

‘सजिलो परिस्थिति देखिँदैन, सरकार गम्भीर होस्’
सत्तारुढ नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले जनता र लोकतन्त्रलाई सुरक्षित राख्न सरकार चनाखो हुनुपर्ने बताएकी छन् । वैठकमा तीनकुने घटनातर्फ संकेत गर्दै उनले अहिले सजिलो परिस्थिति नदेखिएको बताइन् । ‘सरकार गम्भीर होस्, सजिलो परिस्थिति देखिँदैन । जनता र लोकतन्त्रलाई सुरक्षित राख्न सरकार चनाखो हुनुपर्छ’, सांसद प्रसाईंले भनिन्।

शुक्रबार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादीले तीनकुनेमा गरेको प्रदर्शनबारे जानकारी दिएका छन् । मन्त्री लेखकले घटनाबारे जानकारी गराएपछि सांसदहरूले प्रश्न गरेका थिए । ‘एकै दिन दुईटा आन्दोलन गर्न दिने हो कि होइन ? जो व्यक्तिलाई आन्दोलनको जनकमाण्डर बनाइएको थियो ध्यान दिनुपर्छ कि पर्दैन ?’, सांसद प्रसाईंले प्रश्न गरिन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७