तीनकुने घटनाबारे गृहमन्त्री : छानबिन समिति बन्दैन

काठमाडौं । दुई जनाको ज्यान जाने गरी काठमाडौं तीनकुनेमा भएको घटनाको निष्पक्ष छानविन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दलको मागलाई गृहमन्त्री रमेश लेखकले अस्वीकार गरेका छन् । प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार भएको बैठकमा गृहमन्त्री लेखकले तीनकुनेको घटना आपराधिक घटना भएकाले यसमा छानबिन समिति नबन्ने जिकिर गरेका छन् ।
तीनकुने घटनाका प्रत्येक व्यक्तिले गरेका गतिविधिलाई अनुसन्धान गरेर कारबाही गर्ने बताएका उनले चैत १५ गते तीनकुनेमा राजावादीले नै घटना गराएको र यसको एउटै उद्देश्य संविधान फाल्ने र च्यात्ने रहेको दावी गरे । उनले भने, ‘चैत १५ गते तीनकुनेमा घटना गराएको राजावादीले नै हो । यसको एउटै उद्देश्य संविधान फाल्ने र च्यात्ने नै हो । यसमा कोही द्विविधामा पर्नु हुँदैन । संविधानमा ४ वटा कुरा बदल्न पाइँदैन । संविधान संशोधन गर्दा जबरजस्ती आतंक गरेर पाइँदैन, सार्वभौम सत्ता, भौगोलिक अखण्डता फाल्न पाइँदैन । जनतामा निहित सार्वभौम सत्ता राजाले आफ्नो हातमा लिएका कारण गणतन्त्र ल्याइएको हो । जनताको सार्वभौम सत्ता खोस्न पाइँदैन । खोस्ने प्रयास हो यो ।’
जनतामा असन्तुष्टि, आक्रोश भएको स्वीकार गर्दै उनले सरकारले राम्रो गर्ने प्रयास गरिरहेको बताए । उनले भने–‘कमजोरी भइरहेको छ होला, तर घर फोहोर भयो भनेर सफा गर्ने हो कि आगो लगाउने हो ? त्यसको छनोट पनि यसै सदनको समितिले तय गर्ने हो । सरकार चित्त बुझेन र मन्त्री चित्त बुझेन भने सरकार परिवर्तन गर्न कसले रोकेको छ र ? प्रतिनिधिसभामा बहुमत पुर्याए भैहाल्यो नि ! नभए ८४ मा बहुमत ल्याए भयो नि ! फेरि सार्वभौम सत्ता कुनै एक जना निहित व्यक्तिको हातमा लिन्छु भन्ने स्वीकार्य हुँदैन ।’
जनताको सार्वभौम सत्ता खोस्न नपाइने बताएका उनले भने, ‘यो आपराधिक घटना हो, राजनीतिक होइन । न्यायिक आयोगको कुरा नगरौं । कुनै राजनीतिक आदर्श र चेतनामा भएको घटना होइन । छानबिन समितिका नाममा अल्मलियौं भने ठीक ठाउँमा पुग्दैनौं । त्यसैले निष्पक्ष रुपमा अनुसन्धान भइरहेको छ । अनुसन्धानमा सघाउने काम गरौं । जति पटक समितिले बोलाउँछ, म आउन तयार छु ।’
प्रदर्शन स्थल छनोटबारे उनले भने, ‘एकै दिन दुई कार्यक्रम किन गरियो भन्ने विषयमा के हो भने दुबै प्रदर्शनकारी पक्षले कुनै खालको अशान्ति हुँदैन, शान्तिपूर्ण रुपमा प्रदर्शन गर्छौं भनेर धेरै पटक आश्वस्त पार्नुभएको थियो, तर बितण्डा मच्चाउनुभयो । पहिले पनि त्यो ठाउँमा हुने गरेको थियो । अब यस्ता खालको विषय पुनरावृत्ति हुने गरेर गरिँदैन ।’
राजावादीहरुको कार्यक्रममा आपराधिक घटना भएको उनको दावी थियो । उनले थपे, ‘घरमा आगो लगाएर जिउँदै जलाउने काम भएका छन् । यो घटनाको निष्पक्ष अनुसन्धान हुन्छ । कुनै व्यक्तिलाई विनाअपराध मुद्दा लगाइँदैन । आन्दोलनमा सहभागी प्रत्येक व्यक्तिले गरेका गतिविधिलाई अनुसन्धान गरेर कारबही गर्छौं ।’