राजावादीको वितण्डाको विरोध गरे पनि सरकारप्रति नरम छैनौं : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेण्डा नछाडेको बताएका छन् ।
१४ प्रदेश बनाउनुपर्ने कुरा संविधानसभामा ‘नोट अफ डिसेन्ट’को रूपमा आफूहरुले दर्ज गरेको उनले बताए । आइतबार काठमाडौंमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जातीय पहिचानको मुद्दा आफूहरूले नछाडेको स्पष्टीकरण दिएका हुन् ।
‘प्रतिक्रियावादीको ट्र्यापमा परेको हो, हामीबाट गल्ती भएको हो । तर, जातीय पहिचानको कुरा छाडेका छैनौं । १४ प्रदेशको कुरा संविधानसभामा बोलिएको छ, भविष्यमा उठाउँछौ भनेर’ प्रचण्डले भने । प्रचण्डले वैशाख ६ गते काठमाडौंमा हुने नेवाः मुक्ति मोर्चाको सम्मेलनलाई आन्दोलनको रूपमा अगाडि बढाउने बताए ।
‘प्रतिगामीहरू फेरि टाउको उठाउन सम्भव छैन, त्यसका लागि काठमाडौंका नेवारहरू जुरुक्क उठ्नुपर्यो । यथास्थिति र प्रतिगामी षडयन्त्रका विरुद्ध आन्दोलन गर्न जरुरी भयो’ उनले भने । प्रचण्डले राजावादी वितण्डाको विरोध गर्दा सरकारले राहत महसुस गरे पनि आफूहरू केपी ओली नेतृत्वको सरकारविरुद्ध नरम नहुने समेत बताए ।