वैदेशिक सहायता अझै घट्ने छ : परराष्ट्रमन्त्री देउवा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रियस्तरबाट आउने गरेका अनुदान घट्दै गएको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनल अन्तर्राष्ट्रियस्तरबाट आउने अनुदान घट्दै गएको र यो भूराजनीतिक कारणले अझै घट्ने उनको भनाइ छ ।
उनले उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्रलाई अघि बढाउन सघाउ पु¥याएको बताइन् । सबै नेपाली आर्थिक विकास र प्रगतिको आकांक्षी रहेको बताउँदै ती आकांक्षा निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिने बताइन् ।
मन्त्री देउवाले भनिन्‚ ‘सबै नेपाली आर्थिक विकास र प्रगतिका आकांक्षी छौं। ती आकांक्षा निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिनेछ । द्रुत आर्थिक वृद्धि एवं विकासको आकांक्षा पूरा गर्नुछ । अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ ।’ उनले पुँजीगत खर्च बढाउन जरुरी रहेको र त्यसका लागि सरकार कटिबद्ध रहेको बताइन् । सरकारी स्रोत परिचालनमा देखिएका समस्या नयाँ नभएको बताउँदै उनले राजनीतिक स्थायित्व नहुँदा विगतमा देखिएका समस्या अब हटाइने उद्घोष गरिन् ।