तीनकुनेको राजावादी प्रदर्शन : शिवसेना नेपालका मजदुर विभाग प्रमुख सापकोटा पक्राउ

काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनमा भीडलाई उत्तेजित बनाएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४६ वर्षीय मनोज सापकोटा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए । सिरहाको मिर्चैया नगरपालिका–६ घर भएका उनी भक्तपुर लोकन्थलीमा बस्दै आएका थिए । उनले शंख फुक्दै भीडलाई उत्तेजित पारेको आरोप छ । मञ्चमा उभिएर उनले ‘अगाडि बढ्नुस्, यहाँ जनताले गोली खाइसक्यो, अश्रृग्याँस खाइसक्यो...अब सडकमा जाऔं, यहाँ भाषण गर्ने होइन’ भन्दै शंख फुकेर प्रदर्शनलाई उत्तेजित बनाएका थिए ।
उनी शिवसेना नेपालको मजदुर विभागका प्रमुख तथा वीर गोर्खाली मिडिया प्रालिका सञ्चालक समेत रहेको प्रहरीले बताएको छ । पक्राउ परेका सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
१५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा आगजनी र तोडफोड भएको थियो भने दुई जनाको मृत्यु समेत भएको थियो । यो प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महासचिव धवल शमशेर राणा लगायत ७५ बढी व्यक्ति पक्राउ परेका छन् । मुख्य नाइके भनिएका आन्दोलनका कमान्डर दुर्गा प्रसाईं भने फरार छन् ।