ज्यान मार्ने उद्योगसहित दुर्गा प्रसाईविरुद्ध चार कसुरमा मुद्दा चलाउने तयारी

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईविरुद्ध ज्यान मार्ने उद्योगसहित चार कसुरमा मद्दा चलाउने तयारी अघि बढाइएको छ । प्रसाईले तीनकुने प्रदर्शनमा आफैंले चलाएको गाडीले प्रहरीलाई पेल्दै अघि बढेका थिए । अश्लिल शब्द बोल्दै सुरक्षामा खटिएका प्रहरीलाई पेल्दै हिँडेको भिडियो सार्वजनिक भएको थियो ।
उक्त भिड नियन्त्रणमा खटिएका केही प्रहरीले नै प्रसाईविरुद्ध जाहेरी दिने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ। प्रसाईलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको छ । अहिले प्रहरीले म्याद थपका लागि आवश्यक कागजात तयार गरिरहेको छ । भारतबाट नियन्त्रणमा लिएर प्रहरीले उनलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याएको छ । गत १५ गते तीनकुनेमा भएको प्रदर्शनयता फरार रहेका प्रसाईलाई बिहीबार राति प्रहरीले भारतबाट पक्राउ गरेको थियो।
ज्यान मार्ने उद्योग
प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेका प्रसाई आफैले पनि प्रहरीको भिडलाई किचौंलाझैं गाडी कुदाएका थिए । त्यहाँ प्रहरीमाथि नै गाडी कुदाउन खोजेर ज्यान मार्ने प्रयास गरेको भन्दै ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाउन लागिएको हो ।
संगठित अपराध
प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको घटनालाई लिएर उनीमाथि संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुँदैछ । उनी प्रदर्शनकारीको कमाण्डर रहेको कारणले यसको निर्देशक र परिचालक उनी भएको आरोप छ । प्रदर्शनकारीले निजी घर र जडीबुटी कारखानामा आगजनी समेत गरेका थिए ।
आपराधिक उपद्रव र राज्यविरुद्धको कसुर
उनीमाथि आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान अघि बढ्ने बताइएको छ। यसअघि सोही प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणासहितलाई संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।