प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र मेयरद्वारा ६ किलोमिटर सडक उदघाटन
‘अहिले चुनाव लाग्या पनि छैन देश विकासमा राजनीति नगरौं’

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा मतभेद नराख्न आग्रह गरेका छन् । भरतपुर पुलचोक–गोन्द्राङ– ६ लेन सडकको आज यहाँ उद्घाटन गर्दै उनले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्नेे यहाँको सडक एसियाली मापदण्डअनुसार नमुना बनाइएको र पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए । सरकारको आफ्नै लगानीमा यो सडक बनाइएको उनले उल्लेख गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले विकासमा राजनीति गर्न नहुनेमा जोड दिए । उनले भने, ‘अहिले चुनाव लाग्या पनि छैन र अहिले चुनाव प्रचार गर्नु पर्या पनि छैन । त्यतापट्टी गइहाल्नु पर्ने आवश्यकता पनि छैन’, उनले थपे, ‘म आग्रह गर्न चाहन्छु सबैलाई सधै राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनु पर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ ।’
विचारमा विविधता हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले देशको विकास गर्ने कुरामा मतभेद नराख्न आग्रह गरे । ‘देशको विकास गर्नुपर्छ । हामी सबै मिलेर विकास गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ’, उनले भने, ‘डेमोक्रेसीलाई बलियो पार्ने, विकास गर्ने र सुशासनलाई बलियो बनाउने कुरामा एकजुट भएर अघि बढ्न फेरि पनि आग्रह गर्छु ।’ देश विकासका लागि स्थिरता चाहिने भन्दै उनले दुई ठूला दल मिलेर सुशासन र विकासमा लागेको बताए ।
देश अनेक उतारचढावबाट चल्दै आए पनि २०४७ सालपछि भौतिक पूर्वाधारका क्षेत्रमा फड्को मारेको उनले बताए । उनले भने, ‘विकासले गति लिएको छैन भन्ने कुरा होइन । विकासमा काफी प्रगति भएको छ, थप प्रगति गर्न आवश्यक छ ।’ भौतिक निर्माणका क्रममा एकैपटक सबै काम गर्नुपर्नेमा जोड दिँदै उनले बनाउने र भत्काउने काम गर्न नहुने बताए। प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै ऐतिहासिक महत्व बोकेको जिल्ला भएको उल्लेख गरे । उनले भने, ‘राम जन्मेदेखिको लामो इतिहास छ । यो वास्तवमा एउटा सभ्यताको सुरुआत भएको भूभाग हो ।’ नारायणगढको पुलचोकदेखि भरतपुरको गोन्द्राङसम्मको यो सडक निर्माणका लागि २०७७ साल असोज २६ गते इण्डो सगुन जेभीसँग सम्झौता गरिएको थियो ।
सडकको सोही वर्ष माघ १७ गते तत्कालीन प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । सडक एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इ कृष्ण आचार्यले जानकारी दिए। छ दशमलव ०८ किलोमिटर सडक ५० मिटर चौडा रहेको छ भने सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्टलाइट जडान र बिजुली भूमिगत गरिएको छ । चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी पँुगी खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा जानेगरी ड्रेन तयार गरिएको आचार्यले जानकारी दिए ।