मुलुकमा रोजगारीको सम्भावना भए पनि दक्ष जनशक्तिको अभाव : श्रममन्त्री भण्डारी


२०८१ चैत २९ शुक्रबार २१:०६ बजे

ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले मुलुकमा रोजगारीको सम्भावना भए पनि दक्ष जनशक्तिको अभाव रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपालमा रोजगारी प्रवद्र्धन र श्रम बजारलाई व्यवस्थित गर्ने उद्देश्यले स्वीस कन्ट्याक्टद्वारा सञ्चालित ‘स्टेटअफ’ परियोजनाको समीक्षा तथा अनुभव आदानप्रदान कार्यक्रममा आज यहाँ उनले रोजगारदाताको आवश्यकताअनुसार दक्षता र सीप नभएका कारण चार लाख अदक्ष श्रमिक विदेश जान बाध्य हुनुपरेको बताए । 

मन्त्री भण्डारीले रोजगारदाता र रोजगार चाहानेहरूलाई जोड्ने पद्धतिलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन सरकारले ध्यान दिने बताए । ‘अब हामी राष्ट्रिय तथा अन्तरराष्ट्रिय विभिन्न रोजगारदातासँग जोडिने माध्यम बनाउँछौँ, यी सबै कुराको सहजीकरण गर्ने कार्य सरकारले गर्छ’, उनले भने । मन्त्री भण्डारीले प्रविधिमा आधारित सेवा प्रवाहबाट सुशासन कायम गर्ने सरकारको लक्ष्य रहेको भन्दै आमजनतामा सहजै सेवा पहुँच बढाउने गरी रोजगार प्रणालीको व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले हरेक नगरपालिकाले रोजगार सहायकको दरबन्दी सिर्जना गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । 

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले युवा र महिलालाई उद्यमशीलता र रोजगारीसँग जोड्न स्वीस कन्ट्याक्टले महत्वपूर्ण भूमिका खेलेको र यसले समुदायमा सकरात्मक प्रभाव पारेको बताए । उनले भने, ‘युवा र महिलालाई रोजगार र उद्यमशीलतासँग कसरी जोड्न संस्थाले सहयोग गरेको छ ।  उद्यमशीलता अभिवृद्धिका लागि हामीले दिएका तालिमको सफलताका लागि पनि आवश्यक सहजीकरण गरिदिएर सरकारलाई झक्झक्याउने काम भएको छ ।  कोशी प्रदेशमा २३ प्रतिशत युवा अझै बेरोजगार छन्, उनीहरूलाई रोजगार बनाउन हामीले अझै प्रयास गर्नुपर्ने छ । यसमा पनि यहाँहरूको सहयोग रहने छ ।’
 

महानगर प्रमुख कोइरालाले श्रम संसार पोर्टललाई सरकारका निकायसँग जोडेर लैजानु पर्नेमा समेत जोड दिए । प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डुण्डुराज घिमिरेले कोशी प्रदेशमा विभिन्न पालिकामा लागू भएको यो परियोजनाले महत्वपूर्ण प्रभाव पारेको बताए । उनले संघ र प्रदेश सरकारले नागरिकलाई सामाजिक चेतना र आत्मनिर्भर बनाउन परियोजना सहयोग पुगेको बताए । 

दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले रोजगार र उद्यमशीलतासँग जोड्न परियोजनाको परिणाम र सिकाइले दीर्घकालीन प्रभाव पार्ने बताए । उनले उद्यमशीलतासँग जोडिएका हरेक कार्यक्रमसँग युवालाई जोड्न सघाउ पुगेको धारणा राखे । स्वीस कन्ट्याक्टका देशीय निर्देशक सञ्जयध्वज कार्कीले सन् २०२१ फेब्रुअरीदेखि मार्च २०२५ सम्म नेपालमा सञ्चालित ‘स्टेप–अप परियोजना’ को कार्यान्वयनमा हापेल फाउण्डेसन र स्वीस विकास सहयोग (एसडिसी) बाट वित्तीय तथा प्राविधिक सहायता प्राप्त भएको जानकारी गराए । उनले कोशी प्रदेशका तीनवटा स्थानीय तहबाट सुरु भएको परियोजनाले चार वर्षको अवधिमा गृहणीलाई उद्यमशीलता तालिम, रोजगारका विषयमा सहजीकरण गरेको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७