अमेरिकी रक्षा मन्त्रालयको पाँच अर्ब डलर बढी खर्च कटौती


२०८१ चैत २९ शुक्रबार २३:२३ बजे

काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पीट हेगसेथले जलवायु र विविधतासम्बन्धी कार्यक्रमलगायत ‘गैर–आवश्यक’ खर्चमा ५.१ अर्ब डलर कटौती गर्ने बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई सरकारी दक्षता विभागको नेतृत्व गर्ने जिम्मेवारी दिएका छन् । हेगसेथका अनुसार अघिल्लो प्रशासनका कार्यक्रमहरू हटाउन यो विभागको ‘विस्तृत अधिकार’ हुनेछ ।

गत महिना उनले जलवायु परिवर्तन र विविधता, समानता तथा समावेशीकरण (डीइआई) सँग सम्बन्धित अनुदानसहित ५.८ करोड डलर खर्च रोक्न आदेश दिएका थिए । बिहीबार एउटा भिडियोमा हेगसेथले ‘डीइआई, जलवायु, कोभिड–१९ प्रतिकार्य र अन्य गैर–आवश्यक गतिविधि’ का लागि ११ वटा सम्झौता रद्द गर्न लागिएको बताए ।

उनले भने, ‘हामी एउटा सम्झौतापत्रमा हस्ताक्षर गर्दैछौँ, जसले ५.१ अर्ब डलरको रक्षा मन्त्रालय सम्झौता रद्द गर्न निर्देशन दिन्छ ।’ कटौतीमा डिफेन्स हेल्थ एजेन्सीका लागि निजी फर्मबाट परामर्श सेवा र सूचना प्रविधिको क्लाउड सेवासम्बन्धी सम्झौता पनि छन् । रक्षा मन्त्रालयले नर्थवेस्टर्न र कोर्नेल विश्वविद्यालयलाई दिइएको ५ अर्ब डलरभन्दा बढीको अनुदान पनि रोकेको छ । हेगसेथका अनुसार यी विश्वविद्यालयहरूले यहूदी–विरोधी भावना राख्छन् र विभाजनकारी डीइआई कार्यक्रमलाई समर्थन गर्छन् ।

पेन्टागनले सन् २०२५ का लागि ८५० अर्ब डलरको बजेट छुट्याएको छ । वासिङ्टन पोस्टका अनुसार फेब्रुअरीमा हेगसेथले लेखेको पत्रमा आगामी वर्षदेखि प्रत्येक वर्ष बजेटको ८ प्रतिशत कटौती गर्ने योजना बनाउन निर्देशन दिइएको थियो । यो योजना पूर्ण लागु भएमा प्रत्येक वर्ष दशौँ अर्ब कटौती हुँदै पाँच वर्षको अन्त्यमा बजेट ५६० अर्ब डलरमा झर्नेछ। यस वर्षको सुरुमा हेगसेथले भने, ‘हामी बाइडेन युगका गैर–आवश्यक कार्यक्रम हटाएर राष्ट्रपति ट्रम्पको ‘अमेरिका पहिला’ नीति र शान्तिको प्राथमिकतामा पैसा खर्च गर्नेछौँ ।’ एएफपी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७