ब्यारेकभित्रै गोली लागेर एक सैनिकको मृत्यु

चितवन । चितवनमा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको हो । भरतपुर महानगरपालिका–२२ मा रहेको श्री नयाँ गोरख गण कसरा ब्यारेकमा हतियार सफा गर्ने क्रममा गोली लागेर २२ वर्षीय चन्द्र किशोर दासको मृत्यु भएको हो ।
शुक्रबार बिहान ९ बजे हतियार सफा गर्दा दाहिने तिघ्रामा गोली लागेका जवान दास गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले बताएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले गोली लागेर सैनिकको मृत्यु भएको पुष्टि गरे । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले दाहिने तिघ्रामा गोली लागेका थारूको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको जानकारी दिए । घटनाको थप अध्ययन गरिने उनले बताए ।