वीरगञ्ज झडप : सर्वदलीय बैठकले गर्यो यस्ता पाँच बुँदे सहमति

पर्सा । वीरगञ्जमा शनिबार शोभायात्रालाई नगर परिक्रमा गराउने क्रममा दुई समूहबीच भएको झडपपछिको तनाव कम गर्न सर्वदलीय बैठकले विभिन्न सहमति गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको सभा कक्षमा आइतबार बिहानदेखि बसेको स्थानीय प्रशासन, राजनीतिक दलका स्थानीय नेता र धार्मिक अगुवाहरुको संयुक्त बैठकले पाँच बुँदे निर्णय गरेको हो । पटक–पटक गरी लामो समय बसेको बैठकले घटनाबारे विस्तृत छानबिन गरी दोषीमाथि कारबाही गर्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
यस्तै अन्तर धार्मिक सम्प्रादायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध रहेर कानुनी कारवाही प्रक्रियामा सहयोग पुर्याउने, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने, घटनाबाट भएको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने निर्णय भएका छन् ।
धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व कार्यक्रममा हातहतियार प्रदर्शन नगर्ने, अन्यथा कारवाहीको दायरामा ल्याउने एवं जिल्लामा संचालित सबै धार्मिक संघसंस्था तथा ती संस्थाबाट संचालित विद्यालय, मदरसा इत्यादिको अनुगमन गरी अन्यथा देखिएमा कारवाहीको दायरामा ल्याउने निर्णय भएको प्रजिअ अर्यालले बताएका छन् । शनिबार दिउँसो शोभायात्रामा निस्केको समूहमाथि वीरगञ्जको श्रीराम हलस्थित जामा मस्जिदबाट एक्कासी ढुंगा प्रहार गरेकोले दुवै पक्षबीच झडप सिर्जना भएको थियो ।
झडपमा मोटरसाइकल र पसलको फ्रिज बाहिर निकालेर आगजनी भएको थियो।झडप नियन्त्रण गर्न प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना प्रहरीसहित करिब ४० जना घाइते भएका थिए । शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको विवाद बढ्दै गएपछि २४ घण्टा लामो कफ्र्यु लगाइएको थियो ।