रुस र युक्रेनलाई ट्रम्पको चेतावनी : युद्धविराम गर्न सहमत भएनौ भने अमेरिका पछि हट्छ

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले युक्रेन र रुसबीचको युद्धविराम सम्भव छ कि छैन भनेर अमेरिकाले चाँडै निर्णय गर्नुपर्ने बताएका छन्। युरोपेली अधिकारीहरूसँगको बैठकपछि पेरिसबाट बाहिरिने क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले युद्धविराम हुने स्पष्ट संकेत नदेखिए केही दिनभित्रै अमेरिकाले रुस–युक्रेन शान्ति सम्झौतामा मध्यस्थता गर्ने प्रयास त्याग्ने चेतावनी दिएको एएफपीले जनाएको छ ।
युक्रेनले आफ्नो देशको पुनर्निर्माणका लागि लगानी कोष स्थापना गर्ने उद्देश्यले अमेरिकासँग सम्झौतामा हस्ताक्षर गर्ने दिशामा पहिलो कदम चालेको केही घण्टापछि रुबियोको यो टिप्पणी आएको हो। अमेरिकाले विगत तीन वर्षदेखि युक्रेनलाई सहयोग गरिरहेको छ र आफूहरूले यसको अन्त्य चाहेको उनको भनाइ छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्तापछि शान्ति वार्ता शुरू गर्न सहमत भएपछि युक्रेन र युरोपेली सहयोगीहरूलाई बेवास्ता गरेका छन् भने युरोपेली शक्तिहरू वार्तामा बस्न चाहिरहेका छन्।
अमेरिकी विदेशमन्त्री रुबियोले युरोपेली अधिकारीहरूले बिहीवार भएको वार्तामा ‘आफ्ना विचारहरूमा निकै सहयोगी र रचनात्मक बनेको बताएका छन् । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न युरोपेली देशहरूले विचार गर्ने पनि आफूले आशा व्यक्त गरेको उनले बताए । युरोपेली देशहरूले गएको महिना रुसमाथिको प्रतिबन्ध फुकुवा गर्नुको साटो बढाउने सहमति गरेका थिए ।