चिकित्सकहरूको आन्दोलन आज पनि, माइतीघरमा भेला हुँदै


२०८२ बैशाख १३ शुक्रबार २०:१३ बजे

काठमाडौं । सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिई श्रम शोषण गरेको भन्दै आन्दोलनरत चिकित्सकहरूले आज (शुक्रबार) पनि धर्ना तथा प्रदर्शन गर्ने भएका छन् । त्यसका लागि चिकित्सकहरू माइतीघर मण्डलामा भेला भइरहेका छन् । 

काठमाडौं उपत्यकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र उपत्यका बाहिर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन जाने कार्यक्रम रहेको आन्दोलनमा सहभागी एक चिकित्सकले बताए । नेपाल चिकित्सक संघको आह्वानमा देशभर आन्दोलन भइरहेको हो । चिकित्सक संघले निजी मेडिकल कलेजमा काम गर्ने चिकित्सकहरूलाई आकस्मिक बाहेकका सेवा बन्द गरी आन्दोलनमा आउन आग्रह गरेको छ ।

संघले काठमाडौं बाहिरका चिकित्सकलाई जिल्ला प्रशासन कार्यालय र उपत्यकाका चिकित्सकहरूलाई स्वास्थ्य मन्त्रालय घेराउ गर्न निर्देशन समेत दिएको छ । चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले आवासीय चिकित्सकहरूलाई आठौं तहको तलब सुविधा दिने निर्णय गरेपनि निजी मेडिकल कलेजहरूले उक्त निर्णय लागू नगरेपछि आन्दोलनमा आउनु परेको उनीहरूको भनाइ छ।आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रीपरिषद्बाटै भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरूले बिहीबार पनि स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका थिए ।

माइतिघरबाट प्रदर्शनसहित स्वास्थ्य मन्त्रालय जान खोजका आन्दोलनरत चिकित्सकहरूलाई प्रहरीले रोकेको थियो । सो क्रममा केहिबेर प्रहरी र आन्दोलनरत चिकित्सकबीच धकेलाधकेल समेत भएको थियो। उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौं तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् । चिकित्सक संघले आफ्ना मागहरू पूरा नभए देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७