भीरबाट लडेर महिला र युवकको मृत्यु

डोल्पा । डोल्पामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्ला तातोपानी जोड्ने बाटोबाट लडेर दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा रोल्पा सुनछहरी गाउँपालिका–३ बस्ने अन्दाजी ३३ वर्षीया पार्वती घर्ती र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –३ बस्ने १८ वर्षीय किरण भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीका अनुसार ‘घटनाका बारेमा बिहीबार बिहान मात्र प्रहरीलाई खबर आएको थियो । ‘खबर आउने वित्तिकै प्रहरी पुग्यो । मृतकहरूको शव संकलन गरेर जिल्ला अस्पतालमा पुर्यायो,’ उनले भने ।
प्रहरीका अनुसार मृतक दुबै जना मजदुर हुन् । हाल तिप्ला गाउँ जोड्ने खानेपानी आयोजनामा काम गर्दै थिए । यस अघि तिप्ला तातोपानी जोड्ने सडकमा काम गर्थे । उतिबेला घटनास्थलको नजिकै रहेको ओडारमा बस्ने गर्थे । बन्दोबस्तीका सामानहरु पनि त्यसै ओडारमा राखेका थिए । तिनै बन्दोबस्तीका सामानहरु लिएर फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिला महिला चिप्लिन् । त्यसपछि उनैलाई बचाउँछु भन्दा युवक पनि भिरबाट चिप्लिएर लडेका थिए। उनीहरु दुबै जना करिब चार मिटर तल खसेको र शरीरभरि नै चोटैचोट रहेको प्रहरीले जनाएको छ । मृतक दुबै जनाको शव संकलन गर्न करिब दुई घण्टा लागेको प्रहरीले जनाएको छ ।