दृष्टिविहीन छात्र छात्रवासमै मृत फेला

पर्वत । पर्वत सदरमुकाम कुश्मा बजारस्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्र मृत अवस्थामा फेला परेका छन् । विद्यालयको दृष्टिविहीन छात्रवासमा बस्दै आएका कक्षा ११ अध्ययनरत बागलुङको काठेखोला गाउँपालिका–७ सेराका २० वर्षीय छात्र यामबहादुर कार्की आज बिहान मृत फेला परेका हुन् ।
पुरूष छात्रवासमा एक्लै रहेका उनी बिहान अबेरसम्म पनि ढोका खोलेर बाहिर ननिस्केपछि खोजी गर्ने क्रममा मृत भेटिएका हुन् । शिक्षक आन्दोलनका कारण अन्य विद्यार्थी भने घर गएका थिए ।
छात्रवासको मुख्य ढोकाको चुकुल खोलेरभित्र पस्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए । मृतकका आफन्तलाई बागलुङबाट बोलाएर छात्रबासबाट शव परीक्षणका लागि प्रदेश अस्पताल पर्वतमा लगेर राखिएको प्रहरी निरीक्षक सापकोटाको भनाइ छ ।