नीति तथा कार्यक्रम : बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास


२१:१८ बजे

काठमाडौं । विशिष्ट उपचार सेवा संघीय राजधानीबाट सातै प्रदेशमा पुर्‍याउने महत्वाकांक्षी विषयलाई नीति तथा योजनामा समेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा आधारित भएर जसअनुसार सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा विस्तार गर्ने लक्ष्य नीति तथा कार्यक्रममा राखिएको छ। यसैगरी, क्यान्सर तथा मिर्गौला प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गर्ने कार्यक्रम सरकारले राखेको छ। पाठेघर क्यान्सरको एचपीभी खोप र १४ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा दिने कार्यक्रम सरकारले तय गरेको छ ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमाको सुधार तथा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका महत्वपूर्ण सुधार प्रस्ताव गरिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत कार्यान्वयन हुने गरी सार्वजनिक गरिएका विषयमा स्वास्थ्य बीमाको विद्यमान स्रोत अभावलाई कम गर्न छरिएको स्रोतलाई एकै ठाउँमा केन्द्रीत गर्ने तथा सरकारका सबै सहुलियत र सहायतालाई स्वास्थ्य बीमाअन्र्तगत नै वितरण गर्ने योजना तय भएको छ ।

यो कार्यक्रमबाट स्वास्थ्य बीमामार्फत उपलब्ध हुने उपचार सहयोग वृद्धि हुने र अर्कोतिर आवद्ध हुने जनसंख्या बढ्ने अपेक्षा गरिएको छ । स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार, गम्भीर रोगको उपचारसमेत बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गर्ने योजना सरकारले बताएको छ । यसैगरी बीमा सेवाको सुशासन र वित्तीय स्थायित्वका लागि बीमा बोर्डको पुनर्संरचना गर्ने विषय पनि नीति तथा कार्यक्रमले समेटेको छ ।

बीमा प्रणालीमाथिको व्ययभार न्यून गर्न सरकारले उपलब्ध गराउने आधारभूत तथा अत्यावश्यक औषधी बीमा प्रणालीमा जोड्नेछ । छरिएका सबै स्वास्थ्य सेवालाई एकीकृत गरी श्रोतको अभावलाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोषलगायत सबै स्वास्थ्य सेवा र उपचार सुविधा दिने संस्थाको सेवा प्रभावकारीता वृद्धि हुने अपेक्षा लिइएको छ ।

नीति तथा कार्यक्रमले निरोगी नेपाल अभियान सञ्चालन गर्नेछ । त्यसमा सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्ने योजना छ । यसले अहिले स्वास्थ्य क्षेत्रमा भइरहेको खर्चको दोहोरोपना हटाउने तथा सीमित श्रोतमा प्रभावकारी स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरेको छ ।

मन्त्री पौडेलले जोड दिँदै आएको उपचारात्मक सेवा सुधारसँगै हरेक वर्षको फागुन महिना नसर्ने रोग स्क्रिनिङ महिना अन्तर्गत कार्यक्रम लागु गरेर रोग लाग्नुपूर्व सजगता बढाउने अपेक्षा गरिएको छ । यसै वर्षबाट मन्त्री पौडेलले कार्यक्रम आरम्भ गरेर महिलाको पाठेघरको मुखको क्यान्सर तथा अन्य नागरिकका लागि नसर्ने रोगको स्क्रिनिङ हरेक वर्ष सञ्चालन गर्ने गरी आरम्भ गरेका थिए ।

मन्त्री पौडेलले सरकारी मस्तिष्क केन्द्र स्थापना गर्न अध्ययन कार्यदल गठन गरेका थिए । कार्यदलको सुझावअनुसार नीति तथा कार्यक्रममा मस्तिष्क, मेरुदण्ड, मानसिक र स्नायु रोग उपचारका लागि काठमाडौँमा अत्याधुनिक राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गर्ने विषय समावेश छ । यसले सरकारसँग हालसम्म नभएको विशिष्ट अस्पताल थपिनेछ । यसले नागरिकलाई सरकारी अस्पतालमा सुलभ उपचार लिने बाटो खुल्नेछ ।

सरकारी अस्पताल पुरानै ढर्रामा चलेको आम गुनासो छ । एकीकृत प्रणालीमा नहुँदा एक अर्काले सहज तरिकाले रेफर, शैंया भए नभएको निश्चित नहुँदा नागरिकले सास्ती खेप्नु परेको छ । यो विषय समेट्न अनलाईन प्रणालीमा शैंया भए नभएको सबै अस्पतालको तथ्याङ्क लिएर एक अर्काबीच रेफर वा सहकार्य गर्न एकीकृत अनलाईन प्रणाली सञ्चालन गर्ने नीति लिइएको छ । नागरिक एपमार्फत नागरिकले सहज पहुँच पाउने गरी कार्यक्रम विकासले सेवा लिन सहजता प्रदान हुनेछ ।

आयुर्वेद सुदृढीकरण र वैकल्पिक चिकित्सा विधि प्रवर्द्धन गर्न योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने कार्यक्रम सरकारले ल्याएको छ । यसले आयुर्वेद क्षेत्रमा दक्ष जनशक्ति स्वदेशमा उत्पादन गर्न थप प्रोत्साहन हुने अपेक्षा गरिएको छ । नीति तथा कार्यक्रमले संक्रामक रोगको रोकथाम र महामारीको प्रतिकार्यका लागि जनस्वास्थ्य निगरानी प्रणाली सबलीकरण गर्ने नीति लिएको छ ।

यसैगरी, हाल धेरै जिल्लामा देखिएको ऋणात्मक जनसंख्या वृद्धिदरको चुनौती सम्बोधन गर्ने लक्ष्य राखेको छ । पुनर्स्थापना दरभन्दा कम हुन नदिने गरी जनसंख्या नीति तर्जुमा गर्ने विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको छ। स्वास्थ्य र जनसांख्यिक दर्ता प्रणालीलाई एकीकृत स्वास्थ्य सूचना प्रणालीसँग जोड्ने लक्ष्य सरकारले राखेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७