मन्त्री बाहेक कांग्रेसका अरूले एमालेसँग सहकार्य गर्दैनन् : शेखर कोइराला

जिल्लास्तरमा बनाएका संयन्त्र तोड्न निर्देशन


०८:१० बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारमा गएका मन्त्रीहरू बाहेक अरू कसैले एमालेसँग सहकार्य गर्न आवश्यक नभएको बताएका छन् । नेपाल थारु संघ नवलपुरको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भोलिको प्रतिस्पर्धी एमाले नै हुन्छ भन्ने कुरा ख्याल गर्नुपर्ने बताए ।

उनले भने, ‘प्रतिस्पर्धीसँग सहकार्य गरेर संगठन बन्दैन । हामीले गलतलाई गलत भन्नुपर्छ । अनि मात्रै हामी अघि बढ्छौँ। कांग्रेस र एमालेले सरकार बाहिरको संयन्त्र बनाएको छ । कुनै पनि लोकतान्त्रिक मुलुकमा त्यस्ता संयन्त्रहरूले सरकारलाई चलाउन सक्दैन, पाउँदैन ।’

नेता कोइरालाले संयन्त्र बनाउन नहुने भन्दै जिल्लास्तरमा संयन्त्र बनाएको भए तोड्न निर्देशन दिएका छन् । नेता कोइरालाले सरकारले संविधान संशोधनबारे एक सिन्को नभाँचेको बताए । भ्रष्टाचार पनि बढिरहेको भए पनि मन्त्री र प्रधानमन्त्रीहरू नीतिगत निर्णय भनेर पन्छिएको उनको आरोप छ। नेता कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो भएका र अब कार्यान्वयन प्रक्रियामा चुक्न नहुने बताएका छन्। उनले नीति तथा कार्यक्रम राम्रो ल्याउने तर कार्यान्वयनका पक्षमा काम गर्न नसक्ने पहिलेदेखि नै सरकारको कमजोरी भएको बताए ।

डा. कोइरालाले भने, ‘नीति तथा कार्यक्रम राम्रो छ तर कार्यान्वयन पक्षमा ध्यान दिनुपर्छ । सधैँ नीति था कार्यक्रम कार्यान्वयन फितलो हुँदा समस्या हुने गरेको छ । अब यसलाई कार्यान्वयन गर्नेगरी बजेटमा आउनु पर्छ ।’ फरक प्रसङ्गमा उनले कांग्रेसको १५ औं महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने बताए । महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने र गुटको अन्त्य गर्ने भन्दै महाधिवेशन पछि सार्नुको कारण नरहेको बताए । नेता डा. कोइरालाले अधिवेशनले पार्टीलाई जुझारु बनाउने भन्दै उनले हाल भ्रातृ संस्थाको अधिवेशन नहुँदा पार्टी शिथिलतातर्फ गएको बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७