मेलम्ची र हेलम्बु क्षेत्रको पुनर्निर्माणमा सरकार प्रतिवद्ध छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनर्निर्माणमा सरकार लागिपर्ने बताएका छन्। मेलम्ची र हेलम्बु क्षेत्रको आज स्थलगत अनुगमन गर्दै उनले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकारले काम गर्ने बताएका हुन्।
मन्त्री खड्काले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गरे। ‘बाढीपछिको हेलम्बु र मेलम्चीको पुनर्निर्माणका लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडि बढौँ’, उनले भने । पहाडी क्षेत्रका उर्वरभूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो।
सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका–भीमटारमा इन्द्रावती नदीको पानी ल्याएर सिँचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने मन्त्री खड्काले बताए । पहाड़ी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिँचाइ व्यवस्थापन महत्वपूर्ण भएको उनले बताए।
विसं २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको थियो । उक्त क्षेत्रको मन्त्री खड्काका साथै राज्यमन्त्री खमबहादुर गर्बुजा, सांसद मोहन बस्नेत, सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालगायतको टोलीले आज स्थलगत निरीक्षण गरेको हो । मन्त्री खड्कालाई स्थानीयले पुनर्निर्माणको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।