अमेरिकी–इजरायली बन्धकको बदलामा युद्धविराम वा कैदीको रिहाइ हुने छैन : नेतन्याहु

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार हमासले घोषणा गरेको अमेरिकी–इजरायली बन्धकको रिहाइले गाजा पट्टीमा युद्धविराम वा प्यालेस्टिनी कैदीहरूको रिहाइ नगराउने बताएका छन्।
गाजामा सबै बन्धकको रिहाइ सुरक्षित गर्न सम्भावित सम्झौताका लागि वार्ता ‘लडाइँको तीव्रताको तयारीका क्रममा’ जारी रहने नेतान्याहुले आफ्नो कार्यालयले जारी गरेको विज्ञप्तिमा बताए। हमासले युद्धग्रस्त क्षेत्रमा युद्धविरामका लागि संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष वार्तामा संलग्न भएको खुलासा गरेसँगै उसले आइतबार गाजामा बन्दी बनाइएका अमेरिकी–इजरायली सैनिक एडन अलेक्जान्डरलाई रिहा गर्ने बताएको छ।
कुनै मिति नदिइए पनि २१ वर्षीय अलेक्जान्डरको परिवारले उनलाई ‘आगामी दिनमा’ रिहा हुनसक्ने जानकारी दिइएको बताएका थिए । ‘इजरायलले कुनै पनि प्रकारको युद्धविराम वा आतंकवादीहरूको रिहाइको प्रतिबद्धता जनाएको छैन तर एडनको रिहाइलाई अनुमति दिने सुरक्षित मार्गका लागि प्रतिबद्ध छ’, नेतन्याहुले भने । अलेक्जान्डरको रिहाइको प्रतिज्ञा गाजा पट्टीमा ‘सैन्य दबाब’ मार्फत हासिल भएको उनले बताए।
‘हामी महत्वपूर्ण दिनहरूको बीचमा छौँ जसमा हमासलाई एउटा सम्झौताका साथ प्रस्तुत गरिएको छ जसले हाम्रा बन्धकहरूलाई रिहा गर्न सक्षम बनाउँछ’, उनले भने। यसअघि दुई हमास अधिकारीले अमेरिकासँग कतारको राजधानी दोहामा वार्ता जारी रहेको र ‘प्रगति’ भएको एएफपीलाई बताएका थिए । यसैबीच इजरायली आक्रमणहरू जारी रहेको छ। गाजाको नागरिक सुरक्षा एजेन्सीले विस्थापित मानिसहरूलाई आश्रय दिने एक विद्यालयमा राति भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको बताएको छ।
‘जबालिया सहरमा दुई हजारभन्दा बढी विस्थापित मानिसको घर रहेको फातिमा बिन्ट असद स्कुलमा इजरायली हवाई आक्रमणपछि केही महिला र बालबालिकासहित कम्तिमा १० जना (मृत) र दर्जनौं घाइते भएका छन्’, नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले भने । गाजा लडाकुहरूले हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणको क्रममा कब्जा गरिएका ५८ जना बन्धक राखेका छन्, जसमा इजरायली सेनाले ३४ जनाको मृत्यु भएको बताएको छ। रासस/एएफपी