साउदी अरबलाई १४२ अर्ब डलरको हतियार बिक्री गर्न अमेरिका सहमत

काठमाडौं । अमेरिका र साउदी अरबले १ खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएअनुसार सम्झौतासँगै साउदी अरबले एक दर्जन बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध लडाईँसम्बन्धी उपकरण तथा सेवाहरू प्राप्त गर्नेछ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको साउदी भ्रमणका क्रममा दुई देशबीच भएको सम्झौता इतिहासकै ठूलो रक्षा सम्झौता भएको ह्वाइट हाउसको भनाइ छ। सम्झौतामा राष्ट्रपति ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमान एमबीएसले हस्ताक्षर गरेका छन्।
सम्झौतामा वायु सेनाको उन्नति र अन्तरिक्ष क्षमता, हवाई तथा क्षेप्यास्त्र रक्षा, समुद्री तथा तटीय सुरक्षा, सीमा सुरक्षा र स्थल सेनाको आधुनिकीकरण तथा सूचना तथा सञ्चार प्रणालीको स्तरोन्नति लगायतका विषय समावेश छन् ।
त्यस्तै दुई देशबीच ऊर्जा, खनिज स्रोत, संक्रामक रोगसम्बन्धी सहयोग लगायत विषयमा पनि सहमति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
दुई देशबीचको सम्झौतामा हस्ताक्षर गर्ने क्रममा राष्ट्रपति ट्रम्पले साउदी युवराज एमबीएसलाई साथीको रूपमा सम्बोधन गरेका थिए । साउदी अरबले ‘अमेरिकामा लगानी गर्ने प्रतिबद्धता’ समेत जनाएको ह्वाइट हाउसले उल्लेख गरेको छ। अमेरिका वरपरका कृत्रिम बुद्धिमत्ता अर्थात एआइ तथ्यांक केन्द्रमा साउदीको २० अर्ब डलरको लगानी छ।
अमेरिकी प्रविधि फर्महरूबाट दुवै देशमा अत्याधुनिक रूपान्तरणकारी प्रविधिमा ८० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता गरेका छन्। त्यस्तै, साउदी अरबले १४ अर्ब २० करोड डलरको ग्यास टर्बाइन र ऊर्जा समाधान तथा ४ अर्ब ८० करोड डलरको बोइङ ७३७–८ यात्रुवाहक विमान निर्यात गर्ने भएको छ। गत २० जनवरीमा ट्रम्पले पदभार ग्रहण गरेलगत्तै भएको एक टेलिफोन कुराकानीमा साउदी युवराज एमबीएसले चार वर्षभित्र अमेरिकामा ६ खर्ब अमेरिकी डलर लगानी गर्ने वाचा गरेका थिए।