गृहमन्त्री लेखकको निर्देशन : अपराधमा संलग्न कसैलाई नछाड्नू

मोरङ । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा मुलुकको पहिलो आवश्यकता भएकाले शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै पनि सम्झौता मान्य नहुने बताएका छन्। बुधबार विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले सामान्य जनजीवन, विकास निर्माण र आर्थिक गतिविधि शान्ति सुरक्षाविना सम्भव नहुने उल्लेख गर्दै सबै सुरक्षा निकायहरूलाई जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न निर्देशन दिए।
उनले लोकतन्त्र भनेको अनुशासनमा आधारित व्यवस्था भएको बताउँदै अराजकता कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान परिमार्जन र परिष्करण गर्न सकिने भए पनि संविधान र प्रणालीविरोधी गतिविधि सह्य नहुने उनले बताए।
गृहमन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने स्पष्ट गर्दै अपराधिक गतिविधिमा संलग्न जोसुकै भए पनि तिनलाई कानुनी दायरामा ल्याई दण्डित गर्न सुरक्षा निकायलाई निर्देशन दिए । मुलुकको संविधान र शासन व्यवस्था विरोधी गतिविधि सैह्य नहुने उल्लेख गर्दै उनले तोकिएको कानुनी व्यवस्था कार्यान्वयन गर्नेक्रममा सेवाग्राही जनताको काममा ढिलाइ गर्ने छुट राष्ट्रसेवक कर्मचारीलाई नभएको बताए।
त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पछिल्लो समय विभिन्न नाममा देखिएको सुरक्षा चुनौतीको सामना सामूहिक रूपमा गर्नुपर्ने आवश्यकता रहेको बताए। लागुऔषध दुव्र्यसन,सवारी दुर्घटना, साइबर अपराध र सीमा तस्करी नियन्त्रणमा सुरक्षा निकायहरू अझ सक्रिय बन्नुपर्ने उनले बताए। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले कोशी प्रदेशको शान्ति सुरक्षा थप सुदृढ बनाउन गोष्ठी आयोजना गरिएको जानकारी दिए।