हिरासतमुक्त रविन्द्रले भने–तीनकुनेमा नसोचेको घटना भयो, आरोप जस्तो अपराध गरेको छैन


२०८२ जेठ २ शुक्रबार ०४:३७ बजे

काठमाडौँ  । सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानतमा हिरासतमुक्त भएका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूले राज्यले आरोप लगाए जस्तो संगठित र राज्यविरुद्धको अपराध नगरेको जिकिर गरेका छन् ।

बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई हाजिर जमानतमा छाड्न आदेश दिएको थियो । यसपछि प्रहरी नियन्त्रणबाट मुक्त भएका मिश्रले अदालतको गेट बाहिर आएर भने, ‘म राजनीतिक मान्छे हुँ, मैले राजनीतिक रुपमा राजसंस्था पुनर्स्थापनाका लागि काम गरेको हो । तर, राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मबाट भएको छैन ।’

उनले ४७ औं दिनसम्म पनि राज्यलाई अनुसन्धानमा सहयोग गर्छु भन्ने हिसाबले बन्दी प्रत्यक्षीकरणको निवेदन नदिएको समेत बताए । उनले १५ चैतमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि समेत व्यक्त गर्दै भने, ‘त्यो मैले सोचेको कुरा पनि होइन, म जस्तो मान्छेले योजना गरेको कुरा पनि होइन ।’

प्रहरीले सर्वोच्च अदालतको इजलास नम्बर ५ मा लैजाने क्रममा ढोका बाहिर मात्र हत्कडी फुकालेको झण्डै साढे ६ घण्टापछि रवीन्द्र मिश्रले लगाउँदै आएको थुनुवा ज्याकेट पनि खोलेका छन् । न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले हाजिरी जमानीमा छाड्न आदेश लिएलगत्तै अदालत परिसरमा उपस्थित सञ्चारकर्मीहरूकै उपस्थितिमा उनले उक्त ज्याकेट खोलेका थिए । यतिका दिनसम्म बन्दी प्रत्यक्षीकरण याचिका दायर नगर्नुको पछाडि आफूलाई राज्यले न्याय गर्ला भन्ने मान्यता रहेको तर मुद्दाहरू थपिँदै गएपछि मुद्दा दायर गरेको बताए ।

उनकी श्रीमती सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् । करिब ११ बजे अदालत पुगेका मिश्रलाई त्यसको आधा घण्टापछि इजलासमा लगिएको थियो । उनी थुनुवा ज्याकेटमै सुनुवाइको सम्पूर्ण प्रक्रियामा उपस्थित भएका थिए । उनले आफू हाजिरी जमानीमा छुटेकोले अन्य कुराहरू उपयुक्त समयमा भन्ने बताएका छन् । 

उनले भने, ‘चाहे त्यो २०४६ साल होस्, ०६२/६३ होस्, थारु आन्दोलन होस्, हरेक आन्दोलनमा जनधनको क्षति हुन्छ । त्यसै हुनाले मैले बारम्बार मेरा सामाजिक सञ्जालका टिप्पणीहरुमा शान्तिपूर्ण संक्रमणबाट नवीन समझदारीबाट नविन समझदारीमा जाउँ भनेर भनेको छु ।’

तत्काललाई आफू हाजिर जमानतमा मात्र छुटेकाले धेरै खुशी हुने पक्षमा नरहेको समेत उनले बताए । १५ चैतमा भएको राजावादी आन्दोलनमा २ जनाको मृत्यु, २० जना प्रहरीको गोली लागेर घाइते, सार्वजनिक र निजी सम्पत्ति तोडफोड भएपछि प्रहरीले सोही दिन बेलुकी उनीसहित सांसद् धवलशमशेर राणालाई समेत पक्राउ गरेको थियो । विएण्डबी अस्पतालमा घाइतेलाई भेटिरहेका बेला उनीहरु पक्राउ परेका थिए । राणालाई भने यसअघि नै प्रहरीले छाडिसकेको छ । राजावादी प्रदर्शनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंसहितका व्यक्तिहरु अझै हिरासतमा छन् । प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७