‘सरकारले राम्रो काम गरे पनि पार्टी र प्रधानमन्त्रीमाथि चौतफी आक्रमण भइरहेको छ’

भक्तपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले नेतृत्वको सरकारले राम्रा काम गरे पनि पार्टी तथा प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताएका छन्।
नेकपा (एमाले) बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले आज भक्तपुरको डोलेश्वरमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रचार कार्यशालामा उनले पार्टी र सरकारप्रति गलत सूचना सम्प्रेषण भइरहेको बताए । महासचिव पोखरेलले भने, ‘अहिले सामाजिक सञ्जालको दुरुपयोग गरी एमालेमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ। सरकारको नेतृत्व माथि आक्रमण भइरहेको छ। नेतामाथि प्रहार भइरहेको छ । यसलाई एमाले प्रचार विभागले चिरेर जानुपर्छ ।’
मूलकको समृद्धि र विकासको नेतृत्व गर्न, मुलुकमा सुशासन कायम गर्न सरकारले काम गरिरहेको उल्लेख गरे। एक वर्षभित्र विकासशील राष्ट्रमा प्रवेश गर्ने १० मुलुकमध्ये नेपाल पहिलो नम्बरमा रहेको बताए । उनले मिसन ८४ सफल पार्न एमालेका प्रभावकारी कामलाई आमनागरिकमा लैजाने गरी प्रचार गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नागरिकको सोचाई र धारणाअनुसार सूचना प्रविधिमैत्री, एआई, सामाजिक सञ्जाल, अनलाइन र मल्टी मिडियालाई प्रभावकारी प्रयोग गर्दै सत्य तथ्य जनतामाझ लैजानु पर्ने बताए । बागमती प्रदेश कमिटीका उपाध्यक्ष दावा दोर्जे लामा, प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामालगायतले मिसन ०८४ सफल पार्न र पार्टी नेतृत्व तथा सरकारमाथि भएका गलत प्रचार विरुद्ध सामाजिक सञ्जाल र समाचारमार्फत प्रतिकार गर्नुपर्नेमा जोड दिए।
दुई दिने कार्यशालाको पहिलो दिन आज पार्टी नेता विष्णु रिजालले पार्टी प्रचार र प्रविधि, मातृका पौडेलले नेपाली मिडिया र एजेण्डा सेटिङ, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले माक्र्सवाद र समाजवादबारे प्रशिक्षण दिने जनाइएको छ। दोश्रो दिन नेता राजेन्द्र गौतम, दिपेन्द्र श्रेष्ठ, नवराज सिलवाल, हिरामान लामा, भुवन केसी, प्रदीप ज्ञवाली, भक्तकुमारी लामाले प्रशिक्षण दिने आयोजकले जनाएको छ।