सप्तकोशीमा बेपत्ता दुई गोताखोर खोज्न कुरिनटारबाट पाँच गोताखोर परिचालन

काठमाडौं । सप्तकोशी नदीमा बेपत्ता गोताखोरको आज (शुक्रबार) बिहानैबाट खोजी कार्य शुरू भएको छ। उद्धार अभ्यास गर्ने क्रममा बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता भएका थिए। उद्धार अभ्यासको क्रममा इलाम दरबन्दी भएका सशस्त्र प्रहरीका जवान हरिदेव राजवंशी र पर्सा गणमा दरबन्दी भई छिन्नमस्ता बाहिनीमा कार्यरत सशस्त्र जवान सुरज साउद बेपत्ता भएका छन्।
शुक्रबार बिहानैदेखि उनीहरूको खोजी कार्य शुरू भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार खोजीका लागि दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डीएसपीको कमाण्डमा ४ जना गोताखोरसहित ३५ जना र नं. ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्तसहित डीएसपीको कमाण्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको छ।
थप खोजी तथा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डीएसपी पुरुषोत्तम भण्डारीको कमाण्डमा पाँच जना गोताखोरलाई बिहीबार राति नै त्यसतर्फ पठाइएको थियो। बेपत्ता भएका दुवै जनाले २०८० र ०८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए ।