कर्मचारीमाथि छानबिन हुँदा गृहमन्त्रीले राजीनमा दिनु पर्दैन : गगन थापा

मोरङ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रमेश लेखकको विषयमा प्रतिपक्षीहरूले उठाएको माग उचित नभएको बताएका छन्। भिजिट भिसा प्रकरणमा कर्मचारीमाथि छानबिन हुँदा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने उनले स्पष्ट पारे । छानबिन हुँदै गर्दा नेतृत्व पनि जोडिएको देखिए त्यतिबेला त्यही अनुसार अघि बढ्नु पर्ने उनले बताएका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माओवादीसहितका विपक्षी दलहरुले माग गरिरहेका बेला सत्ता साझेदार दल कांग्रेसका महामन्त्रीले यस्तो धारणा राखेका हुन्।गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलले वैठक अवरुद्ध गर्दा संसद ठप्प भएको छ । आज शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले सरकारलाई सफल बनाउन कांग्रेसले सहयोग गर्ने बताएका छन्। महामन्त्री थापाले कांग्रेस सम्मिलित सरकार भएकाले वर्तमान सरकारलाई सफल बनाउन कांग्रेसले सहयोग गर्ने बताएका हुन् ।
थापाले सरकारलाई थप प्रभावकारी बनाउने विषयमा कांग्रेसको केन्द्रीय समितिको बैठकबाटै निर्णय गरिने पनि जानकारी दिए। उनले भने, ‘सरकारले प्रभावकारी काम गर्न नसकेको भन्ने लागेका कारण सरकारका कामलाई थप प्रभावकारी बनाउने विषयमा केही दिनपछि बस्ने कांग्रेसको केन्द्रीय समिति बैठकबाटै निर्णय गर्ने तयारी गरेका छौं ।’ थापाले आफूले १५ औं महाधिवेशनका लागि वातावरण बनाउने विषयमा नेताहरूसँग संवाद गरिरहेको दाबी गरे। केही दिन पहिले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग पनि भेट गरेर महाधिवेशनकै विषयमा छलफल गरेको उनले बताए। उनले पार्टीको १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता टुंगो लगाउनु पर्ने भए पनि अहिलेसम्म एउटा निर्वाचन क्षेत्रबाहेक कतै पनि क्रियाशील सदस्यता टुंगो नलागेको जानकारी दिए।