आर्थिक बर्ष सकिनै लाग्दा प्रहरीको खरिदमा ठेकेदारको सेटिङ

अनुगमन कार्यालयमा उजुरी


०३:३२ बजे

काठमाडौं :  नेपाल प्रहरीको आर्थिक तथा प्रबन्ध निर्देशनालयले खरिदमा प्रतिस्पर्धालाई सीमित गरी सेटिङमा बन्दोबस्तीका सामान ठेक्का दिने अन्तिम तयारी गरेको  छ । २५ करोडको बन्दोबस्तीका सामान खरिद गर्दा प्रायः सबै सेटिङमा गर्न लागिएको छ । 

प्रबन्ध निर्देशनालयले प्रतिस्पर्धालाई सीमित गरी सेटिङका ठेकेदार ज्ञानेन्द्र बस्नेतको समूहका कम्पनीबाट मात्र म्याट्रेस, झोला, ट्राफिक रिफ्लेक्टर बेल्टलगायतका १५ करोड बराबरका सामान खरिद गर्न लागिएको छ । । बस्नेतकै कम्पनीलाई नै दिनेगरी उनले दिएको नमूना अनुसारको स्पेक राखेर टेण्डर गरिएको आरोप प्रबन्धका हाकिमहरुमाथि लागेको छ । बाँकी सामान पनि केही ठेकेदारबाट ५ गुणा बढी मूल्यमा सेटिङमै खरिद गर्न लागिएको छ ।

प्राविधिक प्रस्तावमा बस्नेतको कम्पनीमात्र सेटिङमा पास गरिएपछि ठेकेदार राजमान मिश्रले बिहीबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएका छन् ।

पहिला प्रहरीको प्रबन्ध निर्देशनालयमा उजुरी दिएका मिश्रले त्यहाँबाट सुनुवाइ नभएपछि अनुगमन कार्यालयमा दिएका छन् । प्रबन्ध निर्देशनायले हाम्रो नमूना अनुसार छैन भनेर प्राबिधिक प्रस्तावमा फेल गराएपछि न्यायका लागि उनी अनुगमन कार्यालयमा पुगेका हुन् । 

नेपाल प्रहरीको लत्ताकपडा खरिदका लागि आएको २२ करोड बजेट फ्रिज हुन नदिन म्याट्रेस, झोला, बेतको लट्ठी, ट्राफिक रिफ्लेक्टर बेल्ट जस्ता बन्दोबस्तीका सामान खरिद गर्न एक महिनाअघि टेण्डर गरिएको थियो । 

टेण्डरमा ठेकेदार मिश्रले ६ वटा कम्पनीबाट नमूना पेश गरेका थिए । तर गुणस्तर तथा नापतौल बिभागका कर्मचारीहरुसँगसमेत सेटिङ मिलाएर उनका सबै सामानका नमूना फेल गराइयो । त्यसपछि उनले बंगलादेशमा लगेर त्यहाँको गुणस्तर परीक्षण गर्ने एसजीएसमा टेष्ट गराई बन्दोबस्तीका नमूना पास गराएर ल्याएका थिए ।

नेपालमा सेटिङमा फेल गराइएका नमूना बंगलादेशको गुणस्तर परीक्षण निकाय एसजीएसले पास गरेको थियो । बंगलादेशको गुणस्तर पास भएको नमूनासहित मिश्रले ६ वटै कम्पनीबाट म्याट्रेसलगायतका सामानको टेण्डरमा भाग लिए । तर मिश्रका ६ वटै कम्पनीलाई प्राविधिक प्रस्तावमा फेल गराइएको छ ।  

यसअघि पनि नेपाल प्रहरी र सेनामा म्याट्रेसको अधिकांश आपूर्ति मिश्रको कम्पनीले गर्दैआएको थियो । तर यो पटक उनलाई टेण्डरमा भाग लिनबाट बन्चित गर्न खोजियो, तर बंगलादेशबाट नमूना पास गरेर ल्याए टेण्डरमा भाग लिन त पाए । तर प्राविधिक प्रस्तावमा मिश्रका सबै कम्पनीलाई फेल गराइएको छ । र, एक्लौटी ज्ञानेन्द्र बस्नेतसहितका केही कम्पनीलाई ठेक्का दिने तयारीमा प्रबन्ध निर्देशनालय लागेको छ ।

दीपक थापालाई आईजीपी बनाउन ठूलो सहयोग गरेकाले पनि प्रहरीको १५ करोडको ठेक्का उनकै कम्पनीलाई दिन लागिएको स्रोतको दाबी छ । 

यसैगरी, केही खुद्रा सामानको ठेक्का अन्य सत्तारुढ दलनिकट ठेकेदारलाई दिन लागिएको छ । १ सय २० रुपैयाँको बेतको लट्ठी ८ सय ५० रुपैयाँमा प्रल्हाद अधिकारीको कम्पनीलाई दिन लागिएको छ । पाँच गुणा भन्दा बढी मूल्यमा अधिकारीलाई बेतको लौरोको ठेक्का दिने तयारीमा प्रबन्ध निर्देशनालय लागेको छ । 

प्रहरीमा बिगत केही बर्षदेखि ज्ञानेन्द्र बस्नेत र श्रवण अग्रवालले सेटिङमा खरिदको ठेक्का कब्जा गर्दैआएका छन् । चालु आर्थिक बर्षमा यसअघि ६८ करोड बराबरको ठेक्का बस्नेतको समूहले लिएको थियो भने अहिलेको २५ करोडको पनि उनैले पाउने निश्चित भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७