विपक्षी दलहरुको निष्कर्ष : माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा प्रथम दृष्टिमै प्रतिशोध

काठमाडौं । विपक्षी दलहरुको वैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथिको भ्रष्टाचार मुुद्दा प्रतिशोध भएको बताएको छ। आज (शुक्रबार) बानेश्वरस्थित संसद भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको माओवादीका सांसद माधव सापकोटाले जानकारी दिए। ‘माधव नेपालाई अख्तियारले मुद्दा दायर गरेको विषयमा प्रथम दृष्टिमा हेर्दा पूर्वाग्रह नै देखिन्छ,’ उनले भने, ‘पूर्वाग्रह नै भएको बैठकको निष्कर्ष निकालेकोले यसबारे थप बुझ्ने कुरा भएको छ।’
बैठकमा माओवादीबाट प्रचण्ड, वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, हरि ढकाल, नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डे, शेरबहादुर कुँवर, आम जनता पार्टीका प्रभु साहलगायत सहभागी थिए । माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो।