आज पनि संसद बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्दै नबसी आइतबारसम्मका लागि स्थगित गरिएको छ । आज १ बजेलाई तय गरिएको बैठक ‘विशेष कारण’ देखाउँदै आइतबार दिउँसो १ बजेसम्मलाई स्थगित गरिएको हो। दिउँसो १ बजेका लागि डाकिएको बैठक बस्दै नबसी आइतबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरी स्थगित गरिएको हो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट विपक्षीहरू ब्याक सरे पनि छानबिन समितिको प्रतिवद्धता आउनुपर्ने माग गरिरहेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको दाबीसहित विपक्षीहरूले लगातार सदन अवरोध गर्दै आइरहेका छन् । उनीहरूले उच्चस्तरीय छानबिन समितिलाई बटमलाइन बनाएका छन्।
यसबारे आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षी दलका शीर्ष नेतासँग छलफल गरेका थिए। प्रचण्डले भरपर्दो छानबिन समिति बनाउन सरकारको प्रतिबद्धता आयो भने अहिलेको समस्या समाधान हुने बताए। ‘छाबनिन मुख्य कुरा हो भरपर्दो छानबिनमा सरकारको प्रतिबद्धता आयो भने टुंग्याउन सकिन्छ भन्ने कुरा भयो,’ बैठकपछि उनले भने, ‘नेपाली कांग्रेसका सभापतिजीसँग कुरा गर्नु उचित हुन्छ भन्ने भयो। अनि आज सदन नचलाउने सूचना टाँस गर्ने समझदारी बन्यो।’