तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


०४:२६ बजे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको एवं गैरकानूनी लाभ तथा हानी पुर्‍याएको आरोपमा उनीहरूविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– ७ को कृष्णा उच्च माध्यमिक विद्यालयमा जिल्ला शिक्षा कार्यालयबाट भवन निर्माणका लागि विनियोजित रकममा अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त विद्यालयको ४ कोठे आरसीसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले २४ लाख (अनुदान) र जनसहभागिताबाट २१ लाख १० हजार ८९२ रुपैयाँ गरी ४५ लाख १० हजार ८९२ रुपैयाँमा काम गर्ने गरी सम्झौता भएको थियो । अनुसन्धानका क्रममा सम्झौता, लागत इष्टिमेट र नक्साअनुसार काम नभएको, कम गुणस्तरका सामग्री प्रयोग, प्लास्टर र भुइँ चर्किएको, रड बाहिर देखिने गरी ढलान भएको, सिलिङ र बिम बाङ्गिएको देखिनुका साथै भवन पठनपाठन गर्न अयोग्य र जोखिमयुक्त रहेको पाइएको थियो।

नापी किताब र मूल्याङ्कन प्रतिवेदनमा झुटो विवरण समावेश गरी २५ लाख ५० हजार रुपैयाँ निकासा गरिएको र ४१ लाख २० हजार ४२८ रुपैयाँको मूल्याङ्कन प्रतिवेदन सदर गरिएको खुलेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगले नेपालसहित जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर बृधन यादव र सबइन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र लेखापाल सुरेशकुमार श्रेष्ठलाई प्रतिवादी बनाएको छ ।यसैगरी आयोगले कृष्ण उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, सोही विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम राई र हरिनारायण राई तथा विद्यालयको भवन निर्माण गर्ने व्यक्ति जयप्रसाद राईलाई प्रतिवादी बनाएर उनीहरूविरुद्ध २५ लाख ५० हजार रुपैयाँ बिगो र सजायको माग दाबी गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७