विपक्षीको अवरोध, प्रतिनिधिसभा बैठक स्थगित


००:४३ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरुको विरोधका कारण संघीय संसद प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन माग गर्ने प्रतिपक्षी दलहरुको अडान कायमै रहेपछि आज पनि प्रतिनिधिसभाको बैठक तोकिएको समयमा बस्न सकेन। आज दिउँसो १ बजेका लागि बस्ने तय भएको बैठक आजै ३ः१५ बजे बस्ने संघीय संसद् सचिवालयले सूचना टाँसेर बैठक सरेको जनाएको थियो । दोस्रोपटक तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि सचिवालयले पुनः अर्को सूचना प्रकाशित गरी साँझ ५ः३० मा बस्ने उल्लेख गरेको थियो ।

सो सूचना प्रकाशित भएको एक घण्टापछि अर्थात् ६ः३० बजे सुरु भएको बैठकमा पनि विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले पटक पटक सहज रुपमा सभा सञ्चालन गर्न आग्रह गरे पनि विपक्षी दलहरुले अस्वीकार गर्दै विरोध जनाए । त्यसपछि सभामुख घिमिरेले आजको कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाई बैठक स्थगित भएको सदनलाई जानकारी गराए ।

प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो २ः०० बजे बस्नेछ ।  प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची तय भएको थियो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतले प्रतिनिधिसभा बैठक चल्न दिएका छैनन् । यही जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफलपछि प्रतिपक्षी दलको विरोध कारण चल्न सकेको छैन ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७