बूढानीलकण्ठमा देउवा र प्रचण्ड छलफलमा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्।
भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधि सभामा पाँच दिनदेखि जारी गतिरोध अन्त्यका लागि सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डबीच छलफल भएको हो।
छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्। हिजो दुवै नेताबीच भएको छलफलमा सदनको अवरोध खोल्न समिति बनाएर जाने विषयमा सहमति नजिक पुगेको बताइएको थियो।हिजोको छलफलमा आइतबार १ बजेसम्म सदन स्थगित गरी सहमति खोज्ने समझदारी भएअनुरूप दुवै शीर्ष नेताले आज छलफल गरेका हुन्।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन्। तर राजीनामाको विषयमा माओवादी केन्द्र पछि हटेको भए पनि रास्वपा नमान्दा सहमतिमा पुग्न नसकिएको माओवादी केन्द्रको भनाइ छ। नेकपा एमालेले भने छानबिन समिति पनि बन्न नसक्ने अडान यथावत राखेको छ। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदको गतिरोधलाई लिएर भोलि संसद बस्नुअघि एकपक्षीय र दुई पक्षीय छलफल हुने जानकारी दिएका छन्।