अदालतमै अल्झाए रवि हराउँछन् भन्ने लागेको होला, त्यसो हुन दिंदैनौं : वाग्ले
‘पार्टी सभापति र प्रधानमन्त्रीको उम्मेदवार रवि लामिछाने नै हो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं सरुवा गर्ने प्रक्रिया भइरहेको बताएका छन्। आज (शनिवार) स्याङ्जामा आयोजित कार्यक्रममा बोल्दै वाग्लेले लामिछाने काठमाडौं ल्याइएपछि रणनीति झन् बाक्लो हुने बताएका छन्।
‘उनीहरूलाई लाइरहेको छ, अदालतमै अल्झाइदिऔं,’ वाग्लेले भने, ‘रवि लामिछाने हराउँछन् भन्ने उनीहरूलाई लागिरहेको ।’ तर त्यसो हुन नदिने उनले बताए । उनले भने, ‘अब उहाँ काठमाडौं आउँदै हुनुहुन्छ । हाम्रो संवाद र रणनीति झनै बाक्लो हुनेछ ।’ उनले आफूहरू कुनै राजनीतिक सौदाबाजी नगर्ने पनि सम्बोधनको क्रममा भने ।
उपसभापति डा. स्वर्णिम वाग्लेले कारागारभित्रै रहे पनि आफ्नो पार्टीको सभापति रवि लामिछाने नै हुने दाबी गरेका छन्। आगामी महाधिवेशनबाट पार्टी सभापति लामिछाने नै हुने र ०८४ मा सबैभन्दा ठूलो दल भएको खण्डमा प्रधानमन्त्रीको उम्मेदवार पनि रवि नै हुने उनले जिकिर गरे।
‘रवि लामिछानेलाई यिनिहरूले कारागारमा राखे पनि हाम्रो पार्टी सभापति रवि लामिछाने नै हो,’ वाग्लेले भने, ‘०८४ मा हामीले बहुमत ल्यायौं भने वा सबैभन्दा ठूलो पार्टी भयौं भने, हाम्रो पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार रवि लामिछाने नै हो।’