मस्कबारे ट्रम्पको टिप्पणी : उसले होस गुमाइसक्यो


०२:५१ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अघिसम्मका निकट सहयात्री टेक अर्बपति इलन मस्कलाई होस गुमाइसकेको व्यक्ति भन्दै टिप्पणी गरेका छन् । एबीसी न्यूजसँगको शुक्रबार गरेको अन्तर्वार्तामा ट्रम्पलाई सुरुमै सोधिएको थियो, ‘के तपाईंले मस्कसँग कुराकानी गर्न कुनै नयाँ तालिका बनाउनु भएको छ की ?

जवाफमा उनले भनेका थिए, ‘तिमी भन्न खोज्दैछौ त्यो मानिस जसले होस गुमाइसक्यो ? म अहिले उनीसँग कुरा गर्न खासै इच्छुक छैन ।’ एकअर्का विरुद्ध सार्वजनिक छेडखानीमै उत्रिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इलम मस्कबीचको सम्बन्ध तिक्ततापूर्ण बन्दै गएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि ट्रम्पले मस्कसँग बोल्ने कुनै योजना नभएको उल्लेख गर्दै उनीहरुबीच सम्बन्ध सुधारको सम्भावना पनि कम रहेको उल्लेख गरेको छ ।

रोयटर्सले मस्कले नयाँ राजनीतिक पार्टी ‘द अमेरिका पार्टी’ गठन गर्ने विचार व्यक्त गरेको भन्दै यदि यसो भएमा अमेरिकी राजनीतिमा नयाँ तरंग उत्पन्न हुने उल्लेख गरेको छ । राष्ट्रपति ट्रम्प र मस्कबीचको विवादले भने अमेरिकी राजनीति र अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्न सक्ने आँकलन गरिएको छ । उनीहरु बीचको सम्बन्ध कतिसम्म बिग्रिसकेको देखिन्छ भने राष्ट्रपति ट्रम्पले मस्कसँग खरिद गरेको रातो रंगको टेस्ला गाडी बेच्ने वा कसैलाई दिनसक्ने विषयमा विचार गरिरहेको एबीसी न्यूजले लेखेको छ । 

सामाजिक सञ्जाल एक्समा राष्ट्रपति ट्रम्पको आलोचना गरेपछि टेस्लाको शेयर बिहबार एकैदिनमा १४ प्रतिशतले घटेको थियो । टेस्लाको सेयर मूल्य अप्रिलयता १८ प्रतिशतसम्म घटेका छन् । लगानीकर्ताहरू मस्कको अनावश्यक राजनीतिक संलग्नता र ट्रम्पको पुरातन प्रविधि र अतिरिक्त शुल्क (ट्यारिफ) मैत्री नीतिका कारण टेस्लाले गुमाउँदै गएको बजार हिस्सा र ब्रान्ड प्रभावका बारेमा चिन्तित छन् । 

इलेक्ट्रेकका फ्रेड लाम्बर्ट लेख्छन्, ‘ट्रम्प र रिपब्लिकन पार्टीले टेस्लालाई कसरी मार्दै लगेका छन् भन्ने कुरा मस्कले अब बल्ल बुझ्न थालेका छन् ।’ भारत आएका इलन मस्कका बाबु एरोल मस्कसँग दिल्लीस्थित विमानस्थलमा अर अरेबिया इङ्लिसले कुराकानी गरेको थियो । एरोलले छोरा र अमेरिकी राष्ट्रपतिबीच झगडालाई ’केही हदसम्म मूर्खतापूर्ण’ बताउँदै उच्च ओहदामा बसेर काम गर्दा उत्पन्न तनाव र थकाइले यस्तो भएको बताएका छन् । उनले छोरा र राष्ट्रपति बिचको लडाइँमा ट्रम्प नै विजयी हुने बताउँदै भनेका छन्, ‘ट्रम्प, पक्कै पनि, जित्नेछन्, किनभने अमेरिकाका धेरैजसो जनताले उनलाई मतदान गरेका छन् ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७