सत्ताको दोहन गर्नेहरुको पल्टन नै तयार भइसक्यो : घनश्याम भुसाल

रुपन्देही । अर्थशास्त्री एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श भएको छ। नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको सो पुस्तकको शनिबार बुटवलमा विमर्श गरिएको हो।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा केन्द्रदेखि तलसम्म सत्ताको दोहोन गर्नेहरुको पल्टन नै तयार भइसकेको बताएका छन् । उनले सत्ताको दोहन गर्नेहरु राजनीतिक कार्यकर्ताहरुको पल्टन बनेको बताए ।
‘१५ देखि २० लाख वा थोर ैधैरै हुनसक्छ, कार्यकर्ताहरुको हैसियत र पदअनुसार लाभ लिने काम भइरहेको छ’, उनले भने, ‘नेपालको अर्थतन्त्र दलाल पुँजीवाद रहेकाले यसले रोजगारी र सुशासन ल्याउन सकेन । राजेगारी सिर्जना गर्ने पुँजी राष्ट्रिय पुँजी हो, रोजगारी सृजना नगर्ने, तर नाफा कमाइराख्ने दलाल पुँजी हो, यसलाई फेर्नुपर्छ।’
महासचिव घनश्याम भुसालले अर्थराजनीति समाज रूपान्तरणका लागि आवश्यक रहेको बताए। ‘पुस्तकले नेपालको अर्थ राजनीतिको सम्रग विषय समेटेको छ,’ उनले भने, ‘राजनीतिज्ञदेखि विद्यार्थी वर्गसम्मका लागि पुस्तक उपयोगी बनेको छ।’
लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्लेले इतिहासलाई गहिरोसँग अध्ययन गरी तथ्यमा आधारित रहेर पुस्तक लेखिएको बताए। नीतिनिर्माता तथा राजनीतिज्ञहरुले यो पुस्तक अध्ययन गर्नुपर्ने उनको भनाइ थियो।लुम्बिनी वाणिज्य क्याम्पसकी प्राध्यापक विष्णु जोशीले पुस्तकले राजनीतिसँग अर्थशास्त्र जोडिन आवश्यक रहेको कुरामा जोड दिएको बताइन्। नेपाल पछाडि पर्नुको कारणदेखि अर्थतन्त्रका सबै समस्याका बारेमा उल्लेख गरेको भन्दै उनले सरल र सहज भाषामा लेखिएकाले अर्थशास्त्र अध्ययन नगरेकाले पनि सजिलैसँग बुझन् सक्ने बताइन्।
बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. सञ्जयकुमार कर्णले सुरुदेखि अन्त्यसम्म पाठकलाई तान्ने गरी पुस्तक लेखिएको बताए। पुस्तकमा सम्रग अर्थव्यवस्था र अर्थराजनीतिको बारेमा उल्लेख गरिएकाले अध्ययन गर्नु सबैका लागि फाइदाजनक हुने उनको भनाइ थियो।
लेखक कार्कीले समाजलाई दिशाबोध गराउनका लागि पनि पुस्तक लेखेको बताए। विमर्शको सहजीकरण लेखक माधवकुमार पौडेलले गरेका थिए। पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो। पुस्तकमा नेपाली अर्थतन्त्रको ऐतिहासिक चरित्र उत्खनन गर्दै मुलुकको अल्पविकासको जटिलतालाई राजनीतिक र सामाजिक सन्दर्भसँग जोडेर विश्लेषण गरिएको छ ।