स्कटल्यान्डले नेपाललाई दियो ३२४ रनको विशाल लक्ष्य

स्कटल्यान्ड । कप्तान रिचि बेरिङटनको शतकमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्याण्डविरुद्ध जितका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले ३२४ रनको कीर्तिमानी लक्ष्य पाएको छ। बेरिङटनले १०२ रन बनाएपछि टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले डन्डीको फोर्टहिलमा निर्धारित ५० ओभर खेलि ६ विकेट गुमाई ३२३ रन बनाएको हो ।
बेरिङटनले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो छैटौं शतक बनाएपछि स्कटल्यान्डले नेपाललाई बलियो चुनौती तेस्र्याउन सफल भएको हो । आफूले सामना गरेको पहिलो बलमै एलबीडब्लु आउट हुनबाट जोगिएका बेरिङटनले ११४ बलको इनिङ्समा ६ चौका र ४ छक्का प्रहार गरे । माइकल लिस्कसँग तेस्रो रन लिने प्रयासमा उनी रनआउट भएका थिए ।करण केसीले ६ ओभर भित्र ओपनर जर्ज मुन्सीलाई शुन्य र ब्रान्डन म्याकमुलेनलाई ५ रनमा आउट गरि नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए। त्यसपछि बेरिङटन र चार्ली टिएरले तेस्रो विकेटमा १ सय २७ बलमा ९४ रनको महत्वपूर्ण साझेदारी गरे। ओपनर टिएरले नेपालविरुद्ध लगातार दोस्रो अर्धशतक बनाए ।
यसै शृंखलामा नेपालविरुद्धको पहिलो खेलमा पनि ८० रन बनाएका टिएरले ६५ बल खेल्दै ६८ रन जोडे । उनले कुल ९ चौका प्रहार गरे । ललित राजवंशीले टिएरलाई बोल्ड गरी यो साझेदारी तोडेका थिए । पछिल्ला दुई खेलमा अर्धशतक बनाएका फिन्ले म्याकक्रिथ १७ रन बनाई दीपन्द्रसिंह ऐरीको बलमा उत्कृष्ट कट एन्ड बोल्ड भए । दीपेन्द्रले लगत्तै म्याथ्यु क्रसलाई १७ रनमा आउट गरि खेलमा नेपालको पकड बलियो बनाएका थिए। तर त्यसपछि बेरिङटनले लिस्कसँग छैटौं विकेटमा ९३ बलमा १२५ रनको ठोस साझेदारी गरे। सन्दीप लामिछानेको बलमा सोमपाल कामीले लिस्क १४ रनमा छाडेको क्याच नेपाललाई निकै महङ्गो पर्यो । लिस्क ६२ बलमा ९६ रन बनाई अविजित रहे । उनले १२ चौका र ३ चौका प्रहार गरे ।
अन्तिम ओभरमा करणलाई लगातार तीन छक्का प्रहार गरेका मार्क वाट ९ बलमा २१ रन बनाई अविजित रहे । स्कटल्यान्डले अन्तिम ५ ओभरमा ६७ रन जोडेको थियो । ओपनिङ ५ ओभरको स्पेलमा २ मेडन राख्दै १९ रन खर्चेका करणले कुल ९ ओभरमा ७४ रन खर्चेर २ विकेट लिए । सोमपालले ९ ओभरमा ७५ र सन्दीपले १० ओभरमा ६९ रन खर्चन पुगे । दीपेन्द्रले ७ ओभरमा ३७ रन खर्चेर २ र ललितले १० ओभरमा ४१ रन खर्चेर १ विकेट लिए ।
पहिलो २ खेल जितेको नेपाली टोलीमा कुनै परिवर्तन गरेको छैन । स्कटल्यान्डले म्याकेन्जी जोन्सलाई ‘डेब्यु’ गराइरहेको छ । उनले पछिल्लो वर्ष स्कटल्यान्डको यू १९ टोलीबाट खेल्दै आएका थिए । त्यस्तै चार्ली क्यासेल टोलीमा फिर्ता भएका छन् । गत वर्ष उनले डन्डीमै आफ्नो ‘डेब्यु’ मा ओमानविरुद्ध ५.४ ओभरमा २१ रन खर्चेर ७ विकेट लिएका थिए, जुन कुनै पनि खेलाडीको एकदिवसीय अन्तराष्ट्रिय ‘डेब्यु’ मा उत्कृष्ट बलिङ प्रदर्शन हो । जोन्स र क्योलले जास्पर डेभिडसन, ज्याक जार्भिसको स्थान लिएका छन् ।
फोर्टहिलमा नेपालको यो तेस्रो खेल हो । नेपालले सोमबार यस शृंखलाको आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको अविश्वस्नीय विजय हात पारेको थियो । करण केसीले अविजित अविजित ६५ रन बनाएपछि नेपालले २९७ रनको लक्ष्य अन्तिम बलमा पुरा गर्दै एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्मकै सवै भन्दा ठुलो रन लक्ष्य पछ्याएको थियो।
नेपालले बुधबार आफ्नो दोस्रो खेलमा आरिफ शेखको ७८ रनमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो । १४ खेलमा नेपाल १० अंक जोडी सातौं स्थानमा छ । स्कटल्यान्डको १८ खेलमा २२ अंकसहित चौथो स्थानमा छ । अमेरिका २८, नेदरल्यान्ड्स २६ र ओमानको २४ अंकसहित शीर्ष ३ स्थानमा छ । आठ राष्ट्र सहभागी लिग २ को शीर्ष चार टोली विश्वकप छनोटमा पुग्ने छन् । नेपालले मंगलबार नेदरल्यान्ड्सविरुद्ध खेलेर यस लिग २ को यात्रा टुंग्याउने छ ।