सरकारका प्रवक्ताले भने: सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो

रोष्टमबाट प्रधानमन्त्रीले भनेका थिए : नेपालले पनि भारतको जग्गा मिचेको रहेछ


२०८३ जेठ १९ मंगलबार १३:४४ बजे

काठमाडौं : नेपाल–भारत सीमा विवादका सम्बन्धमा प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी बहस र आलोचना भइरहेका बेला सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको भनाइ नै सत्य तथ्यमा आधारित दाबी गरेका छन् । 

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा प्रवक्ता पोखरेलले प्रधानमन्त्री सदनप्रति सधैं उत्तरदायी रहेको उल्लेख गर्दै आवश्यक परेका खण्डमा प्रधानमन्त्री फेरि संसदमा उपस्थित भएर यसबारे जवाफ दिन तयार रहेको जानकारी दिए । पोखरेलले भने, ‘प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहन्छ । उहाँले अस्ति पनि सदनमा उपस्थित भएर उत्तर दिनुभएको हो । आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनुहुन्छ ।’

आइतबार प्रतिनिधिसभा बैठकको रोष्टममा उभिएर सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा उनले सीमा क्षेत्रमा भारतले मात्र नभई नेपालका तर्फबाट पनि भारतको भूभाग मिचिएको पाइएको बताएका थिए । ‘म प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ, भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,’ प्रधानमन्त्री शाहले रोष्टमबाटै भनेका थिए । 

प्रवक्ता पोखरेलले कतिपय ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरिरहेको भूमि पनि भारतमा पर्न सक्ने कुरा प्राविधिक संयन्त्रको अध्ययनबाट आएको दाबी गरे । दुई देशबीचको सीमा विवाद सुल्झाउन गठित कूटनीतिक संयन्त्रको ब्रिफिङ सुन्दा स्वयं प्रधानमन्त्री समेत अचम्ममा गरेको उनको भनाइ थियो।  

उनले भने, ‘दुई देशबीच सीमा विवाद मिलाउनका लागि विभिन्न संयन्त्रहरु छन् । पहिलादेखि नै बनेको संयन्त्र हो । सीमा विवाद कसरी सल्टाउने भनेर प्रधानमन्त्री जीले भन्नु भएको छ । यो विषयमा नेपालले पनि डिप्लोमेटिक नोट पठाएको छ, इन्डियाले पनि पठाएको छ । दुई देश बसेर जति पनि सीमा विवाद छ, त्यो मिलाउने कुरा प्रधानमन्त्रीजीले नै भनिसक्नु भएको छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७