३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस


२०८३ मङ्सिर १० बिहीबार २३:२८ बजे

काठमाडौं : रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले सरकारसमक्ष सिफारिस गरेको छ।

गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समितिको ३८औँ बैठकले बेपत्ताहरूलाई मृत घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

समितिका अनुसार ४८ जिल्लाबाट ३ हजार २९२ जना नेपाली र १९ विदेशी नियोगबाट ६२३ जना विदेशी नागरिकको विवरण यकिन भएको छ। दुवै समूहका गरी ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गरिएको हो।

विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता नेपाली नागरिकका हकमा स्थानीय तहको सिफारिस र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय तथा विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकका नियोगबाट प्राप्त विवरणका आधारमा दुई चरणमा सातदिने सूचना जारी गरी दाबी पेस गर्न आह्वान गरेको थियो।

बैठकले ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय मार्गचित्र २०८३–२०८७ पनि स्वीकृत गरेको छ। उक्त मार्गचित्रले २०८७ सालसम्म सबै समुदायमा विपद्को पूर्वसूचना पुर्‍याउने लक्ष्य राखेको छ।

त्यस्तै, वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ र कार्ययोजना २०८३/८४–२०९१/९२ तथा वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना २०८३–२०८७ स्वीकृत गरिएको छ।

बैठकले डडेल्धुराको आलिताल गाउँपालिकाका दुई बस्तीका ४६ घरधुरी, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुङ्गेका ४० घरधुरी र गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित देवलका ३२ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत स्वीकृति दिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७