पूर्वमुख्यसचिव अर्यालको निवासमा छापा
मलेसिया जाने श्रमिकसँग रकम असुली प्रकरणमा अनुसन्धान
काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमुख्यसचिव एकनारायण अर्यालको बूढानीलकण्ठस्थित निवासमा छापा हानेको छ। मलेसिया जाने नेपाली श्रमिकसँग अवैध रूपमा रकम असुली गरिएको प्रकरणसँग सम्बन्धित कागजात हुन सक्ने आशंकामा प्रहरीले बिहीबार उनको निवासमा छापा मारेको हो।
यसअघि प्रहरीले अर्याललाई बिहीबार पक्राउ गरिएको जानकारी सार्वजनिक गरेको थियो। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रक्रिया सञ्चालन गर्दै आएको कैलाश खड्काको माइक्रोटेक प्रालिमार्फत भएको भनिएको आर्थिक अनियमितताबारे सीआईबीले अनुसन्धान गरिरहेको छ।
सीआईबीको अनुसन्धानअनुसार खड्काको नेतृत्वमा भएको भनिएको सेटिङमार्फत नेपाल र मलेसिया सरकारबीच २०७५ कात्तिकमा भएको श्रम सम्झौताविपरीत नेपाली श्रमिकबाट रकम असुली गरिएको पाइएको छ।
दुई देशबीचको सम्झौताले नेपालबाट मलेसिया जाने श्रमिकलाई शून्य लागतमा पठाउने व्यवस्था गरेको छ। सरकारले तोकेको ६ हजार ५०० रुपैयाँ बायोमेट्रिक शुल्कसमेत मलेसिया पुगेपछि रोजगारदाता कम्पनीले पहिलो महिनाको पारिश्रमिकबाट फिर्ता गर्ने व्यवस्था छ।
तर, अनुसन्धानका क्रममा सरकारले तोकेको शुल्कबाहेक सन् २०२६ मे १८ देखि थप १०० रिङ्गेटसमेत नेपाली श्रमिकबाट असुली गरिएको खुलेको सीआईबीको भनाइ छ। सम्झौताअनुसार उक्त शुल्क मलेसियाली श्रमिकका हकमा मात्र लागू हुने र अन्य मुलुकबाट मलेसिया जाने श्रमिकलाई लागू नहुने व्यवस्था रहेको छ।
प्रहरी अनुसन्धानमा माइक्रोटेक प्रालि र मलेसियास्थित बेस्टिनेट कम्पनीबीचको सहकार्यमा यस्तो रकम असुली गरिएको देखिएको छ। नेपाली श्रमिकबाट संकलन गरिएको रकमसमेत बेस्टिनेट कम्पनीमा पठाइएको अनुसन्धानबाट खुलेको बताइएको छ।
यस प्रकरणमा नेपालस्थित मलेसियाली दूतावासको भूमिकामाथि समेत सीआईबीले अनुसन्धान केन्द्रित गरेको छ। नेपाल र मलेसियाबीच भएको सम्झौताविपरीत माइक्रोटेकका सञ्चालक कैलाश खड्कालाई अनुकूल हुने गरी दूतावासबाट पत्र तयार पारेर मन्त्रालयमा पेस गरिएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
सीआईबीको प्रारम्भिक अनुसन्धानले श्रमिकसँग रकम असुली गर्ने यस्तो धन्दा २०७० सालदेखि नै सञ्चालनमा रहेको देखाएको छ। २०७५ सालमा नेपाल र मलेसियाबीच शून्य लागतमा श्रमिक पठाउने सम्झौता भएपछि पनि उक्त असुली नरोकिएको अनुसन्धानबाट खुलेको छ।
.gif)

.png)




