श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ लाई फाँसी दिन गायिका एलिना चौहानको माग
‘नेपालमा फाँसीको सजाय यो पागलबाट सुरु गरियोस्’
काठमाडौं : चर्चित गायिका एलिना चौहानले श्रीमतीको हत्या गर्ने टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापालाई मृत्युदण्ड (फाँसी) को सजाय दिन माग गरेकी छन्। काठमाडौँको तारकेश्वर नगरपालिकामा सैनिक महिला ईश्वरी भुजेलको विभत्स हत्या भएको घटनाप्रति सामाजिक सञ्जालमार्फत तीव्र आक्रोश व्यक्त गर्दै उनले यस्तो माग गरेकी हुन्।
पीडित पक्षले यसअघि सुरक्षाका लागि पटक–पटक प्रहरीमा ढोका ढकढक्याउँदा पनि सुनुवाइ नभएको भन्दै चौहानले राज्य संयन्त्रको कमजोरी औँल्याएकी हुन्। भनेकी छिन्, ‘घरेलु हिंसा घरभित्रको कुरा होइन, यो अक्षम्य अपराध हो। अझै कतिवटा हत्या भएपछि हामीले यो कुरा बुझ्ने ? यदि देशको रक्षा गर्ने सेनाकै एक सदस्य सुरक्षित छैनन् भने, यहाँका साधारण महिलाहरूको अवस्था के होला ? पाँच पटकसम्म उजुरी गर्दा पनि प्रहरीले विषयलाई गम्भीर रूपमा नलिनुले समाजमा के सन्देश दिन्छ ? नेपालमा फाँसीको सजाय यस्ता अपराधीहरूबाट नै सुरु गरियोस्।’
शुक्रबार टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापाले पत्नी ईश्वरी भुजेलको रड प्रहार गरी हत्या गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार तारकेश्वर नगरपालिकास्थित लोलाङ, पैँयुटारमा शुक्रबार राति १०:१० बजे उक्त घटना भएको हो। स्कुटीमा घर फर्किँदै गरेकी ४२ वर्षीया ईश्वरीको टाउकोमा कुमारले रड प्रहार गरेका थिए।
आफूलाई रेस्लर र फाइटरका रूपमा समेत चिनाउने अभियुक्त कुमार र मृतक ईश्वरीबीच केही समययता सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। नेपाली सेनामा कार्यरत ईश्वरी शुक्रबार राति कामबाट घर फर्किने समयको पूर्वानुमान गरी कुमार बाटो ढुकेर बसेका थिए। ईश्वरी घरनजिकै पुग्नासाथ उनीमाथि घातक प्रहार भएको एसपी भट्टराईले जानकारी दिए।
घटनालगत्तै स्थानीय प्रत्यक्षदर्शी र आफन्तले घाइते ईश्वरीलाई तत्काल स्थानीय तारकेश्वर अस्पताल पुर्याएका थिए। तर, अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) रिफर गरिएको थियो। शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका हुन्।
.gif)

.png)


