क्लिन चिट पाएपछि गृहमन्त्रीमा सुधन गुरुङ फर्किँदै

आजै ३ बजे शपथको तयारी


२०८३ जेठ २६ मंगलबार १२:४४ बजे

काठमाडौं : सम्पत्ति विवरणको प्राविधिक विवादमा मुछिएर पदबाट राजीनामा दिएका निवर्तमान गृहमन्त्री सुधन गुरुङ पुनः गृह मन्त्रालयको कमान्ड सम्हाल्न फर्किने भएका छन्। उनले बुझाएको सम्पत्ति विवरणमाथि अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले कुनै पनि प्रकारको कैफियत र बदनियत नदेखिएको भन्दै 'क्लीन चिट' दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई पुनः मन्त्रालयको जिम्मेवारी सुम्पन लागेका हुन्।

बालुवाटार उच्च स्रोतका अनुसार आजै दिउँसो ३ बजे नयाँ गृहमन्त्रीको शपथ ग्रहण गराउने गरी राजनीतिक र प्रशासनिक तयारी पूरा भइसकेको छ। शपथ ग्रहण समारोहको व्यवस्थापनका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालय (शीतल निवास) लाई आवश्यक तयारी अवस्थामा रहन (अलर्ट बस्न) समेत औपचारिक रूपमा जानकारी गराइसकेको छ। आजै बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले निवर्तमान गृहमन्त्री गुरुङमाथि भएको छानबिनको विस्तृत प्रतिवेदनलाई औपचारिक रूपमा ग्रहण गर्ने निर्णय गरेको छ।

बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूले सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेललाई ‘सुधन गुरुङ आजै गृहमन्त्रीका रूपमा फर्किन लाग्नुभएको हो?’ भनी सिधा प्रश्न गरेका थिए। सो प्रश्नको रक्षात्मक र कूटनीतिक जवाफ दिँदै प्रवक्ता पोखरेलले भने, ‘मन्त्रिपरिषदमा बल्ल प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको छ। अब त्यसलाई सरकारले गम्भीरतापूर्वक अध्ययन गर्छ र आवश्यक निर्णयमा पुग्छ। फाइल ग्रहण गरेर, अध्ययन सकिएपछि मात्रै शपथ ग्रहणको प्रक्रिया अघि बढ्ने हो, यदि पछि गर्नुपर्‍यो भने पनि। हाललाई मन्त्रिपरिषदमा शपथकै विषयमा कुनै औपचारिक निर्णय भएको छैन।’

मन्त्रिपरिषदले प्रतिवेदन अध्ययनको कानुनी प्रक्रियालाई अघि सारे पनि बालुवाटार र शीतल निवास दुवैतिर भने आजै दिउँसो ३ बजेको शपथका लागि आन्तरिक गृहकार्य तीव्र पारिएको स्रोतको दाबी छ।

२७ दिनमै राजीनामा, ४८ दिनपछि शक्तिशाली पुनरागमन प्रतिनिधिसभा सदस्य तथा स्वतन्त्र सांसद गुरुङको सम्पत्तिलाई लिएर सञ्चारमाध्यम र राजनीतिक वृत्तमा गम्भीर प्रश्न उठेपछि नैतिकताको आधारमा उनले गत वैशाख ९ गते नियुक्तिको २७ औँ दिनमा पदबाट राजीनामा दिएका थिए। सार्वजनिक पदमा बसेको व्यक्तिमाथि प्रश्न उठेपछि निष्पक्ष छानबिनको वातावरण बनाउन उनले मार्गप्रशस्त गरेका थिए। त्यसलगत्तै सरकारले यसबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन उच्चस्तरीय समिति गठन गरेको थियो।

समितिले गत २२ जेठमा प्रधानमन्त्री बालेन शाहसमक्ष बुझाएको प्रतिवेदनमा सांसद गुरुङको नियतमा कुनै खोट नरहेको र कुनै आर्थिक अनियमितता वा ठूलो गल्ती–कमजोरी फेला नपरेको प्रष्ट पारेको छ। प्रतिवेदनले यस विवादलाई व्यक्तिको भ्रष्टाचार वा सम्पत्ति लुकाउने आपराधिक मानसिकता भन्दा पनि नेपालको सम्पत्ति विवरण भर्ने 'सिस्टम' मा देखिएको प्राविधिक जटिलता र बुझाइको कमीका रूपमा व्याख्या गर्दै सुधारका उपायहरू औंल्याएको छ।

 निवर्तमान गृहमन्त्री गुरुङले यसअघि सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणमा गोरखा, चितवन र धनकुटामा विभिन्न कित्ताका जग्गाहरू रहेको उल्लेख गरेका थिए। पछि गृह प्रशासन र सुरक्षासम्बद्ध पत्रकारहरूसँगको एक अनौपचारिक अन्तर्क्रियामा उनले आफ्नो विवरणमा उल्लेख भएभन्दा पनि अझ बढी जग्गा रहेको बताएपछि मिडियामा यसले ठूलो विवादको रूप लिएको थियो।

तर, छानबिन समितिले भूमि व्यवस्थापन तथा मालपोत कार्यालयहरूबाट आधिकारिक र प्रमाणित स्रेस्ता (विवरण) मगाएर प्राविधिक अध्ययन गर्दा गुरुङको व्यक्तिगत नाममा अनपेक्षित जग्गा फेला नपरेको स्रोतले पुष्टि गर्‍यो।

समिति स्रोतका अनुसार, ‘सुधन गुरुङको व्यक्तिगत नाममा धनकुटा बाहेक अन्यत्र कतै पनि जग्गा भेटिएन। उनले आफ्नो सम्पत्ति विवरण बुझाउँदा पैतृक अंशबन्डा नभइसकेको अवस्थामा हजुरबुवा र बुवाको नाममा रहेको पारिवारिक संयुक्त सम्पत्तिलाई समेत आफ्नै ठानेर विवरणमा उल्लेख गरेको पाइयो।’

वास्तविकतामा, धनकुटामा रहेको १९ रोपनी १५ आना जग्गा मात्र सुधन गुरुङको आफ्नो कानुनी नाममा दर्ता रहेको समितिले पुष्टि गरेको छ। बाँकी चर्चामा आएको चितवनको ३० कट्ठा र गोरखाको चुमनुब्रीमा पर्ने २२१ रोपनी विशाल जग्गा उनका बुवा र हजुरबुवाको नाममा यथावत् रहेको पाइएको छ। हजुरबुवाको नाममा कुल कति जग्गा छ भन्ने प्राविधिक यकिन नभई, पारिवारिक भोगाधिकारका आधारमा भावनात्मक रूपमा सबै सम्पत्ति खुलाउने प्रयास गर्दा विवरणमा अङ्क र कित्ता फरक पर्न गएको समितिको निष्कर्ष छ।

नेपालको परिप्रेक्ष्यमा सामान्यतया नेताहरूले सम्पत्ति लुकाउने प्रवृत्ति राख्ने गरेकोमा, गुरुङले भने आफ्नो नाममा आइनसकेको पुस्तौनी सम्पत्तिलाई समेत पारदर्शी ढंगले खुलाउन खोज्दा प्राविधिक त्रुटि हुन पुगेको भन्दै समितिले उनलाई दोषमुक्त गरेको हो। यही प्रतिवेदनका आधारमा अन्ततः करिब ४८ दिनको अन्तरालपछि गुरुङ पुनः मुलुकको गृह प्रशासनको कमान्ड सम्हाल्न सिंहदरबार फर्किने निश्चित भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७