विश्वकपमा आज इंग्ल्यान्ड र डिआर कङ्गो भिड्दै
एजेन्सी । फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत आज इंग्ल्यान्ड र डिआर कङ्गोबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ।
प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको इंग्ल्यान्ड समूह ‘एल’को विजेताका रूपमा नकआउट चरणमा पुगेको हो। उसले समूह चरणको पहिलो खेलमा क्रोएसियालाई ४–२ ले हराएको थियो भने घानासँग बराबरी खेलेपछि अन्तिम खेलमा पानामालाई २–० ले पराजित गरेको थियो। यद्यपि नतिजा सकारात्मक रहे पनि इंग्ल्यान्डले आफ्नो वास्तविक क्षमता अनुसारको प्रदर्शन भने गर्न सकेको छैन।
इंग्ल्यान्डका लागि राइटब्याकको स्थान सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ। रिस जेम्स ह्यामस्ट्रिङ चोटका कारण पानामाविरुद्धको खेल गुमाएका थिए र जारी विश्वकपमा उनको पुनरागमनको सम्भावना निकै कम छ। उनको स्थानमा खेलेका जारेल क्वान्सा पनि एंकलमा चोट बोकेपछि आजको खेलका लागि अनिश्चित छन्। यस्तो अवस्थामा जेड स्पेन्सले राइटब्याकमा सुरुआती अवसर पाउने सम्भावना छ।
यता, सानो चोटका कारण अघिल्लो खेलमा विश्राम दिइएका डेक्लान राइस पूर्ण रूपमा फिट भएकाले सुरुआती टोलीमा फर्किने अपेक्षा गरिएको छ।
अर्कोतर्फ, डिआर कङ्गोले आफूलाई कमजोर प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत नगरेको प्रमाण समूह चरणमै दिएको थियो। पोर्चुगलसँग १–१ को बराबरी खेलेको कङ्गो कोलम्बियासँग १–० ले पराजित भए पनि उज्बेकिस्तानलाई ३–१ ले हराउँदै उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो।
समूह चरणमा टोलीका चारमध्ये तीन गोल गरेका योआने विस्सा डिआर कङ्गोका सबैभन्दा खतरनाक खेलाडी रहनेछन्। डिफेन्समा आरोन वान–बिसाका, एक्सेल टुआन्जेबे र आर्थर मासुआकुजस्ता इंग्लिस फुटबलमा अनुभव बटुलेका खेलाडीको उपस्थितिले इंग्ल्यान्डविरुद्ध अतिरिक्त आत्मविश्वास दिने अपेक्षा गरिएको छ।
मिडफिल्डमा नोआ सादिकीको भूमिका निर्णायक हुन सक्छ। प्रशिक्षक सेबास्टियन डेसाब्रेका लागि सकारात्मक पक्ष भने टोलीमा कुनै प्रमुख चोटको समस्या नरहनु हो।
विश्व फुटबलको शक्तिशाली टोली इंग्ल्यान्ड उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यमा छ भने डिआर कङ्गो अर्को ठूलो उलटफेर गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्ने योजनामा हुनेछ।
.gif)

.png)

