वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ: मन्त्री चौधरी


२०८३ असार २४ बुधबार १६:१२ बजे

पाटन । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त वैज्ञानिकहरूको मेहनत र सक्रियताले देशको कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् । नार्कद्वारा आज ललितपुरमा आयोजित नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन् ।

मन्त्री चौधरीले नयाँ नियुक्त भएका वैज्ञानिकहरूलाई उत्साहका साथ देशको कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न इमानदार, मेहनती र नतिजामुखी भएर काम गर्न आग्रह गरिन् । नार्क र कृषि क्षेत्रमा सुधारको आवश्यकता औंल्याउँदै उनले भनिन्, "विगत केही वर्षदेखि परिषद्भित्र आन्तरिक जटिलता र संरचनागत समस्याका कारण यो आफ्नो अस्तित्वको परीक्षाको घडीबाट गुज्रिएको छ । मन्त्रालयले यसलाई उच्च महत्व दिए पनि परिषद्ले स्पष्ट मार्गचित्र कोर्न सकेको छैन, राष्ट्रको सबैभन्दा ठूलो विकासको आधार कृषि क्षेत्र भएकाले यसको सुधारमा वैज्ञानिकहरूको महत्त्वपूर्ण जिम्मेवारी रहनेछ ।"

उनले वैज्ञानिकहरूको कार्यसम्पादन, सुशासन र नेतृत्व क्षमताका आधारमा अवसर प्रदान गरिने स्पष्ट पार्दै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँगको सहकार्यलाई अघि बढाउने तयारी भइरहेको समेत जानकारी दिइन् ।

कार्यक्रममा नार्कका कायममुकायम निर्देशक डा. श्रीमत श्रेष्ठले योजना, अनुगमन, प्रशासनिक गतिविधि, आर्थिक अनुशासन र अध्ययन अनुसन्धानका विषयमा पाँच दिनसम्म अभिमुखीकरण चल्ने जानकारी दिए । उनले वैज्ञानिकहरूलाई किसानहरूको वर्षौंदेखिको अनुभवलाई आत्मसात् गर्दै आफ्नो ज्ञानका आधारमा नवप्रवर्तन (Innovation) मा जोड दिन सुझाव दिए ।

नार्कले भर्खरै सेवामा प्रवेश गरेका ४४ वरिष्ठ वैज्ञानिक र २७ वैज्ञानिकका लागि यो पाँच दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७