अविरल वर्षासँगै उपत्यकाका मुख्य नाका सिल
नागढुंगा र दक्षिणकाली नाकाबाट सवारी साधन बाहिर जान रोक
काठमाडौं, २९ असार : अविरल वर्षाका कारण प्राकृतिक विपद्को जोखिम उच्च भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरूबाट सवारी आवागमनमा रोक लगाइएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले दिएको जानकारीअनुसार नागढुंगा र फर्पिङ/दक्षिणकाली नाका हुँदै उपत्यकाबाट बाहिरिने सम्पूर्ण सवारी साधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो।
सोमबार बिहानैदेखि परेको अविरल वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो जाने र ढुंगा खस्ने जोखिम बढेपछि प्रहरीले यस्तो निर्णय लिएको हो।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार पछिल्लो केही समययता राजमार्गका विभिन्न खण्डहरूमा पहिरो खस्ने क्रम सुरु भइसकेकाले यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राखेर पूर्वसतर्कता अपनाइएको हो।
विगतका वर्षहरूमा वर्षाकै कारण राजमार्गमा सवारी साधनहरू पहिरोमा पुरिएका दुखद घटनाहरूबाट पाठ सिक्दै मन्त्रालयले यसपटक जोखिम क्षेत्रमा सवारी रोक्ने कठोर निर्णय लिएको हो।
यस निर्णयबाट यात्रामा निस्किएका यात्रुहरूलाई केही असहजता भए तापनि ठूलो मानवीय क्षति हुन नदिनका लागि संयमता अपनाउन सुरक्षा निकायले आग्रह गरेको छ। वर्षा नरोकिएसम्म र राजमार्गको अवस्था सामान्य नभएसम्म अनावश्यक यात्रा नगर्न समेत गृह मन्त्रालयले सर्वसाधारणमा अनुरोध गरेको छ।

.gif)

.png)

